बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

जार तथा बोतलको पानी पिउने गर्नुभएको छ ? सावधान ! यी कम्पनीका पानी नपिउनुहोस्

काठमाडौ : काठमाडौ उपत्यकामा जार तथा बोतल मार्फत खानेपानी विक्री गर्दै आएका २१ कम्पनीको पानी पिउन अयोग्य भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जार तथा बोतलमा पानी विक्री गर्दै आएका ६१ कम्पनीको पानी नमुना संकलन गरी परिक्षण गर्दा २१ वटा कम्पनीको पानी दुषित भेटिएको हो ।

विभागका सह–प्रवक्ता मदनकुमार चापागाईंका अनुसार हाइल्यान्ड ड्रप्स एन्ड फुड वेभरेज काठमाडौं, नीलकण्ठ नेचुरल एन्ड बेभरेज भक्तपुर, ग्लासियर बेभरेज उद्योग बूढानीलकण्ठ, त्रिशूली मिनरल एन्ड बेभरेज मनमैंजु, ग्रिनबेरी मिनरल वाटर उद्योग बूढानीलकण्ठ, फूलचोकी मिनरल वाटर गोदावरीको पानी गुणस्तरहीन भेटिएको हो ।

बालाजी वेभरेज मनमैजु, स्फाल्स मिनेरल वाटर इन्डस्ट्रिज जोरपाटी, अक्वा नागार्जुन फ्रेस मिनरल वाटर बूढानीलकण्ठ, बूढानीलकण्ठ वेभरेज, हिमालयन स्वपा मिनरल प्रालिले उत्पादन तथा विक्री गर्दै आएको पानी पनि गुणस्तरहीन भेटिएको छ ।

यस्तै जेनुइन मिनेरल बेभरेज भक्तपुर, माता सरस्वती खानेपानी काठमाडौं, प्रकृति प्योर ड्रिंकिङ प्रालि महादेवटार, अल स्टेज बेभरेज भक्तपुर, ग्लेसियर वाटर बेभरेज काठमाडौं, बुद्धभूमि खानेपानी उद्योग धापासी,  डाँफे मिनरल वाटर गोकर्ण, प्राची मिनरल्स एन्ड बेभरेज, बूढानीलकण्ठ र त्रिकोण बेभरेज बालाजुको पानी पनि पिउन अयोग्य भेटिएको सह–प्रवक्ता मदनकुमार चापागाईंले बताउनुभयो ।

ती कम्पनीले उत्पादन गर्ने पानीमा दिसामा पाइने जीवाणु कोलिफर्म समेत भेटिएको र सुरक्षित पानीमा हुनुपर्ने जैविक तत्वको समेत अभाव भएको पाएको विभागले जनाएको छ ।

दुषित पानी बेच्ने कम्पनी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको विभागका सह–प्रवक्ता चापागाईले जानकारी दिनुभयो ।