बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

डाक्टर पन्थीद्वारा छोरीको ५० हजार उपहार, विद्यालयलाई दान

कीर्तिपुर : काठमाडौको कीर्तिपुरमा सञ्चालित जनसेवा माध्यमिक विद्यालयलाई विश्व स्वास्थ्य संगठनका नेशनल प्रोफेसनल अफिसर डा. सुदनराज पन्थीले ५० हजार रुपैयाँ दान गर्नुभएको छ ।

विद्यालयको आफ्नै सक्रियतामा सञ्चालित खानेपानी तथा सरसफाइ कार्यक्रमबाट प्रभावित भएर उहाँले बुबाको मुख हेर्ने दिन आफ्नो छोरीबाट उपहार स्वरुप प्राप्त भएको ५० हजार रुपैयाँ विद्यालयलाई दान गर्नुभएको हो । ‘यो विद्यालयले कुनै संघसंस्थाको प्रयास बिनै सात झण्डे सरसफाइ कार्यक्रम अघि बढाएको छ । विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थी भाइबहिनीले जन्म दिन मनाउन छुट्याएको रकम समेत सरसफाइ कोषमा जम्मा गरेर विद्यालयमा हुने गरेका सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुहुँदो रहेछ, यो भन्दा राम्रो काम के हुनसक्छ ?’ डा. पन्थीले भन्नुभयो ।

‘मेरी छोरी सुकृति पन्थीले आफ्नो पहिलो जागीरको पहिलो तलब मलाई आफ्नै इच्छा अनुसार खर्च गर्नु भनी पठाएकी थिइन्, छोरीले भनेको स्मरण गर्दै डा. पन्थीले भन्नुभयो ‘बाबा यो हजुरले जे किन्न मन लाग्छ त्यसैमा खर्च गर्नुहोस् वा साथीसँग रमाइलो गर्नुहोस्’ मलाई त्यो पैसा कहाँ राखौं कहाँ राखौं, भइरहेको थियो, म यस विद्यालयको सरसफाइ कोषमा जम्मा गरिदिन्छु यो भन्दा उत्तम ठाउँ मेरा लागि के हुन सक्छ ?’

डाक्टर पन्थीले विद्यालयको सरसफाइ कोषमा ५० हजार प्रदान गर्ने घोषणा गर्न साथ विद्यालय परिसरमा लामो समयसम्म ताली गुञ्जिएको थियो । डाक्टर पन्थीले ५० हजार रुपैयाँको चेक विद्यालयका प्राचार्य नन्दकुमारी महर्जनलाई हस्तान्तरण गर्नुभएको छ ।

विद्यालय परिवारले डा. पन्थीको उदार हृदयको कदर गर्दै  सोही कार्यक्रममा प्रसंशा पत्र र खादा ओढाई सम्मान गरिएको छ ।