बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

पोखराका बासिन्दाले शवको खरानी मिसिएको पानी पिउनु नपर्ने

कास्की : पर्यटकीय शहर पोखराका बासिन्दाले उपभोग गर्दै आएको मर्दीखोलाको पानीमा अब शव जलेको खरानी नमिसिने भएको छ । मर्दीखोला क्षेत्रमा सार्वजनिक शौचालय, खानेपानीको धारा, लुगा धुने ठाउँ सहितको तीन वटा शवदहन गृह निर्माण गरी समुदायलाई हस्तान्तरण गरेपछि शव जलाउँदा निस्कने खरानी मर्दीखोलामा नमिसिने भएको हो ।

शवदहन गृह नदी किनार भन्दा अलि माथिल्लो भागमा बनाइएको छ । शव जलाएपछि निस्किने खरानीलाई सेफ्टी ट्याङ्कीमा जम्मा हुने व्यवस्था मिलाइएको छ । जसले गर्दा सीधै पानीको सम्पर्कमा पुग्न पाउँदैन ।

पोखराको खानेपानीको मुख्य श्रोत मर्दी खोला क्षेत्रका ल्वाङ, रिभान, धिताल, लाहाचोक र सेती दोभानमा पनि शवदहन गृह निर्माण प्रक्रिया अगाडि बढेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनुभयो । ती क्षेत्रमा थप शवदहन गृह, सार्वजनिक शौचालय तथा लुगा धुने ठाउँ निर्माणको लागि पहल भइरहेको उहाँले बताउनुभयो ।

 

शवदहन गृह निर्माणका लागि पोखरा उद्योग वाणिज्य संघ, पोखरा लेखनाथ महानगरपालिका र नेपाल खानेपानी संस्थानले आर्थिक सहयोग गरेको छ ।

सार्वजनिक शौचालय, पानीको धारा सहितको प्रत्येक शवदहन गृह निर्माणको लागत १० लाख ४२ हजार रुपैयाँ रहेको छ ।

शवदहन गृह निर्माण गरेर मात्र पोखराको खानेपानी मुहान शुद्ध नहुने भएकाले गाउँमा चेतना र विकासका कार्यक्रम ल्याउनुपर्ने माछापुछ्रे गाउँपालिका ९ नं. वडाका वडाध्यक्ष अध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताउनुभयो ।

 

पोखराका बासिन्दाले उपभोग गर्ने पानीको मुख्य मुहानमाथि शैदी घट्टा, सिदिङ्ग, लुम्रे, घलेल, खोराकोमुख, रिभान लगायतका गाउँहरु छन् । खानेपानी संस्थान पोखराले विन्ध्यवासिनीमा रहेको पानी संकलन केन्द्रमा क्लोरिन हालेर पानी शुद्धिकरणको काम गरिरहेको भएपनि बर्षायाममा धारामा धमिलो र लेदो मिसिएको पानी आउने गरेको छ ।

पोखरामा कहाँ बाट कति पानी ?

पोखरामा विभिन्न मुहानको पानीबाट खानेपानी आपूर्ति गर्दै आएको छ । नेपाल खानेपानी संस्थान पोखराका प्रमुख निरन महर्जनका अनुसार पोखरामा निम्न मुहानबाट खानेपानी आपूर्ति हुँदै आएको छ ।

मर्दीखोलाबाट दैनिक ३ करोड लिटर,
बालधाराबाट दैनिक ४ लाख लिटर
भोटीखोलाबाट साढे २ लाख लिटर

अहिले पोखरामा दैनिक साढे ४ करोेड लिटर पानीको माग छ । अहिले ४ करोड लिटर पानी दैनिक आपूर्ति हुँदै आए पनि खानेपानी लाइनको बिस्तार हुन नसक्दा विन्ध्यवासिनीको ट्याङ्कीबाटै खेर गइरहेको छ । अहिले पोखरामा दैनिक करिब साढे ३ करोड लिटर पानी बितरण हुँदै आएको छ । पोखरामा २०४४ सालमा मर्दीखोलाबाट १६ इञ्चको पाइप मार्फत पानी ल्याएर व्यवस्थित रुपमा वितरण गर्न थालेको हो ।

जाइकाको १३ करोड ५० लाखको सहयोगमा २०६८ सालमा १६ इञ्चको सट्टामा २० इञ्चको पाइप हाली विन्ध्यवासिनीसम्म पानी ल्याएको हो । तर वितरण पाइपको अभावमा अहिले पनि खेर गइरहेको छ ।