बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

छात्रा आफैले पैसा उठाएर किने सेनेटरी प्याड

ओखलढुंगा : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा १२ मा रहेको जाल्पा माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरु आफैले रकम उठाएर सेनेटरी प्याड किनेका छन् । विद्यालयमा आर्थिक स्रोत नभएपछि छात्राहरु आफैले रकम संकलन गरेर प्याड किनेका हुन् ।

छात्राहरु आफैले किनेको सेनेटरी प्याड भण्डारण गरेर आवश्यक परेका बेला वितरण गर्ने व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक रत्न बहादुर खत्रीले बताउनुभयो । ‘विद्यालयमा आर्थिक स्रोत नभएपछि छात्राहरु आफैलाई सेनेटरी प्याड किन्न लगाएका हौं’ प्रधानाध्यापक खत्रीले भन्नुभयो ।

महिनावारी भएको समयमा विद्यार्थी विद्यालयमा नआउने समस्या बढेपछि विद्यार्थीहरुकै पहलमा प्याड गरिद गरेर वितरणको व्यवस्था मिलाएको हो । विद्यालयले सेनेटरी प्याड फेर्ने कक्ष पनि तयार गरिदिएको छ । यस्तो व्यवस्थापछि महिनावारी भएका छात्राहरु समेत नियमित आउने गरेका प्रधानाध्यापक खत्रीले बताउनुभयो । प्याड नहुँदा महिनावारी भएको समयमा छात्राहरु विद्यालय आउँदैनथे ।

विद्यालयमै सेनेटरी प्याडको व्यवस्था भएपछि विद्यालय आउन सहज भएको छात्राहरु बताउँछन् । जाल्पा माध्यमिक विद्यालय, विद्यालयमै सेनेटरी प्याड व्यवस्थापन गर्ने ओखलढुंगाको पहिलो सामुदायिक विद्यालय बनेको छ ।

छात्राहरु आफैले संकलन गरेको पैसाले किनेको सेनेटरी प्याड विद्यालयमा राख्न दिइएको र आवश्यक परेको समयमा मागेर प्रयोग गर्ने गरिएको शिक्षिका मैया श्रेष्ठले बताउनुभयो ।

विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले छात्रा आफैले रकम संकलन गरेर खरिद गर्नु परेको श्रेष्ठले बताउनुभयो ।
‘कतै कतै त दाताले पनि सहयोग गरेको खबर सुनेका छौं, हाम्रो विद्यालयमा पनि दिएमा छात्रा माथि आर्थिक भार पर्ने थिएन’ शिक्षिका श्रेष्ठले भन्नुभयो ।