बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

… र छाउगोठमा सधैका लागि अस्ताइन् ‘गौरी’

अछाम : दिनभरि मेलामा खर काटेकी गौरी बूढा राती खाना खाएपछि छाउगोठमा सुत्न गएकी थिइन् । उनलाई महिनावारी भएको दुई दिन भएको थियो । अघिल्लो दिन सबेरै उठेकी गौरी सोमबार विहान अबेरसम्म पनि नउठेपछि ससुरा डम्मर बहादुर बूढाको मनमा चिसो पस्यो । ‘बुहारी कतै केही त भईनन् ?

किनकि अघिल्लो साल पनि अछाामकैे तिमिल्सेनमा डम्बरा उपाध्याय र गाज्रामा रोशनी तिरुवाको छाउपडी गोठमै ज्यान गएको थियो ।

विहान अबेरसम्म पनि बुहारी नउठेपछि शुरुमा त आफै हेर्न पुग्नुभयो । त्यसपछि छिमेकीलाई समेत खबर गरेर ढोका फोरेर हेर्दा गौरीले सदाको लागि संसारलाई त्यागिसकेकी थिइन् ।

घटना अछामको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानको हो । छाउगोठमुक्त घोषणा भएको भैरवस्थानमा छाउगोठमै २२ वर्षीया गौरी बूढाको कठाङ्ग्रिएर ज्यान गएको हो ।

भैरवस्थानलाई महिला तथा बालबालिका कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी प्रथा निवारण परियोजनाले दुई वर्ष पहिले नै छाउपडी गोठमुक्त घोषणा गरेको थियो ।

गौरी बुढा तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्थ्यो । उहाँका श्रीमान् वीरेन्द्र बुढा नेपाल प्रहरीमा जागीरे हुनुहुन्छ । काठमाडौँबाट श्रीमान् घर फर्किदै गरेकाले गौरीको भोलि मंगलबार मात्र दाहसंस्कार गरिने परिवारले जनाएको छ ।