बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

महिला समूहले बनाए खानेपानी ट्याङ्की र शौचालय

पोखरा : जनप्रिय आमा समूहको सक्रियतामा पोखरा लेखनाथ महानगरपालिका–१० जनप्रिय टोलमा खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको सात लाख ९६ हजार ५ सय रुपैयाँ र जनप्रिय आमा समूहले ८९ हजार जनसहयोग परिचालन गरी खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको समूहकी अध्यक्ष पवित्रादेवी गुरुङले बताउनुयो ।

सो ठाउँको १३ आना एक पैसा १३ दाम सार्वजनिक जग्गामा १० हजार लिटरको पानी ट्यांकी र पुरुष र महिलाका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरिएको हो । पानी ट्यांकीको निर्माणपछि जनप्रिय टोलका एक हजारभन्दा बढी स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले खानेपानी ट्यांकी र सार्वजनिक शौचालयको उदघाटन गर्नुभयो । प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले खुला दिसामुक्त कास्कीमा सार्वजनिक शौचालय बन्न नसकिरहेको अवस्थामा शौचालय तथा खानेपानी ट्याङ्कीको निर्माण गरेकोमा प्रसंशा गर्नुभयो ।


सार्वजनिक जग्गालाई अतिक्रमणबाट जोगाउन राम्रो कार्यको सुरुवात भएकोमा जनप्रिय आमा समुहलाई धन्यवाद दिदै उहाँले यस्तो राम्रो कामको सिको अरुले पनि गर्नुपर्ने बताउनुभयो ।
आमा समुहकी अध्यक्ष पबित्रा देवी गुरुङले शौचालय तथा खानेपानी टंकीको निर्माणमा पोखरा लेखनाथ महानगरपालिका, नागरिक समाज, उपभोक्ता समुह र स्थानीयको ठूलो सहयोग रहेको बताउनुभयो ।