बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

खानेपानीको मुहान सुक्न थालेपछि डोटीमा भगवतीको पूजा

डोटी : लामो समयदेखि पानी नपर्दा मुहान सुकेर खानेपानी अभाव हुनुका साथै बालीनाली समेत सुक्न थालेपछि डोटीको जोरायल गाउँपालिका ४ बाँजिलेकका बासिन्दाले पानी पारिदिन भन्दै भगवतीको पूजा गरेका छन् ।

६५ घरको बसोबास रहेको बाँजिलेकका बासिन्दाले परम्परागत तरिकाले बोका चढाएर मालिकामाई भगवतीको पूजाआजा गरेका हुन् ।

‘गाउँमा खानेपानीको योजना भए पनि खडेरीका कारण मुहान सुक्दै गयो, खानेपानी नभएपछि गाउँबाट करिब १ घण्टा तलबाट पानी बोकेर खानुपर्ने बाध्यता छ, बर्षा भए त खोलाखोल्सीमा पानीको मूल रसाउँथ्यो कि ? त्यसैले हामीले मालिकामाई भगवतीको पूजाअर्चना गरेका हौं’ बाँजिलेकका खगेन्द्र थापाले भन्नुभयो ‘हामीले भगवतीसँग पानी पारिदिन प्रार्थना गरेका छौं ।’

                                                                  पानी माग्दै भगवतीको पुजा गर्न बसेका बाँजिलेकका बासिन्दा । 

‘गाउँ समाजको कुरा हो, वर्षा रोकिएको लामो समय भयो, गाउँमा खानेपानी र खेतीपातीका लागि समस्या भयो । परम्परागत विश्वास अनुसार गाउँमा सबैले भगवतीको पूजा गर्ने सल्लाह भएर पञ्चमीको तिथीमा पानीका लागि पूजा गरिएको हो ।’ शिक्षक भोजबहादुर थापाले भन्नुभयो ।

पहिले पहिले बाख्राको पाठी र कुखुराका चल्लाले भगवतीको पूजा गरिंदै आएकोमा आजकाल बोका बलि दिएरै पूजा गर्न थालिएको थापाले बताउनुभयो । विगतका वर्षहरुमा पनि सुख्खा मौसममा भगवती पूजा गर्ने गरिएको र पूजा गरिरहेकै बेलामा पानी पर्ने गरेकाले गाउँलेमा विश्वास रहिआएको बुढापाका बताउँछन् ।

पानी नपर्दा गहुँ बाली र फलफूलको फुल्ने बेला भएकाले फलफुलका लागि पनि सिंचाई अभाव भएको जिल्ला कृषि विकास कार्यालय डोटीका बरिष्ठ कृषि विकास अधिकृत तपेन्द्रबहादुर शाहले बताउनुभयो ।

यस वर्ष मनसुनी वर्षा सकिए पश्चात गत कार्तिक पहिलो साता परेको हल्का पानीले केही राहत भएपनि त्यस यता पानी परेको छैन । वर्षा नभएर खडेरी पर्दा डोटीका विभिन्न क्षेत्रमा महादेव र भगवतीको पूजा गर्न थालिएको छ ।