बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

दुई बर्ष अघि नै खुलादिसामुक्त घोषणा भएको शुक्लाफाँटामा अझै ४ सय घर चर्पी विहीन

कञ्चनपुर : दुई वर्ष अघि नै खुला दिसामुक्त घोषणा भएको शुक्लाफाँटा नगरपालिकाका ४४३ घरमा अझै चर्पी बनेका छैनन् । नगरपालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गरेको घरधुरी सर्वेक्षणमा नौ हजार २७४ घरधुरीमध्ये आठ हजार ८३१ परिवारको घरमा मात्रै शौचालय रहेको पाइएको समन्वय समितिका सुपरभाइजर वसन्ती विष्टले बताउनुभयो ।

शौचालय नभएका परिवारले खेत, सार्वजनिक सडक, खोला र वन क्षेत्र लगायत खुला ठाउँमा दिसापिसाब गर्दै आएका छन् ।

नगरपालिकाका वडा नं १ मा १८, २ मा ३९, ३ मा २४, ४ मा ३६, ५ मा ६४, ६ मा ११, ७ मा ५३, ११ मा २२ र १२ का ३८ घरमा शौचालय नभएको पाइएको छ । वडा नं ८, ९ र १० मा भने सबै घरमा शौचालय निर्माण गरिएको छ ।

शौचालय भएका मध्ये १० प्रतिशतभन्दा बढीले शौचालय नै प्रयोगमा नल्याएको पाइएको छ । शौचालय दाउरा, घाँस र गुइँठा राख्ने स्थानका रुपमा परिणत गरेका छन् ।

आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारले नगरपालिकाले सबै सेवा सुविधा रोक्दा समेत पक्की शौचालय निर्माण गर्न नसकेको र अस्थायी रुपमा बनाएका शौचालय बिग्रिएका कारण खेतमा शौच गर्न बाध्य भएको नगरपालिकाका कर्मचारीको भनाइ छ ।

मन्दिर र सार्वजनिक अधिकांश स्थानमा शौचालय नभएकाले तत्काल यस्ता ठाउँमा सार्वजनिक शौचालय निर्माण गरिनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ ।

नगरपालिकाका सबै बासिन्दामा शौचालयको पहुँच पु-याउनका लागि सबैको सहयोगको खाँचो रहेको नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।

नगरपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउन शौचालय निर्माणसँगै शौचालयको प्रयोग, साबुनपानीले हात धुने बानी, सुरक्षित पानीको प्रयोग, सुरक्षित खाना, सफा घरआँगन र वातावरण बनाउनका लागि काम अगाडि बढाइने उहाँले बताउनुभयो । नगरपालिकालाई गत साल पुस १२ गते नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको थियो ।

नगरपालिकामा बसोबास गर्ने नौ हजार २७४ परिवार मध्ये दलित समुदायका एक हजार ११३, जनजाति समुदायका दुई हजार १८४ र अन्य समुदायका पाँच हजार ९७७ परिवार बसोबास गर्दै आएका छन् ।