बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

भूमिकास्थानका महिला महिनावारीको समयमा चुप लागेर नबस्ने

अर्घाखाँची : अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं. ३ र ४ का महिलाहरुले महिनावारीको बिषयमा चुप लागेर नबस्ने तथा महिनावारी सम्वन्धी कुरा गर्न लाज नमान्ने लगायत महिनावारी र पुर्ण सरससफाइ सँग सम्बन्धित पाँच बुँदे प्रतिबद्धता जनाएका छन् ।

 


वडा नं. ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविका, स्वस्थ आमा समुह, महिला सहकारी, महिला शिक्षक र किशोरी छात्राहरूका लागि आयोजना गरिएको एक दिने पुर्ण सरसफाइ तथा महिनावारी हुँदाको सरसफाइ व्यवस्थापन सम्बन्धी तालिममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।


डब्लु वास सिसिको आयोजनामा प्रकाश सचेतन समूह प्रागको सहजीकरण तथा ग्लोबल सेनिटेसन फण्ड र यु एन हेविट्याटको सहयोगमा शान्ति मावि धारापानीमा तालिम सञ्चालन गरिएको हो ।


तालिमका सहभागीले पुर्ण सरसफाइ र महिनावारी स्वच्छता सम्बन्धी जनाएका ५ बुँदे प्रतिबद्धता ।

यस्तो छ ५ बुँदे प्रतिबद्धता

१. महिनावारीको बिषयमा चुप लागेर नबस्ने 
२. महिनावारी सम्वन्धी कुरा गर्न लाज नमान्ने, गर्व महसु गर्ने
३. महिनावारी सम्बन्धी सन्देशलाई घरभित्र, बिद्यालय र समुदायमा फैलाउने
४. पुर्ण सरसफाइ अभियानमा सक्रिय भएर लाग्ने
५. आफ्नो वडा, भुमिकास्थान नगरपालिका र अर्घाखाँची जिल्लालाई सफा र स्वच्छ एवं पुर्ण सरसफाइ उन्मुख बनाउन महत्वपूर्ण योगदान पु-याउने

 

 

डब्लु वाससिसिका अध्यक्ष एवं भुमिकास्थान नगरपालिका ४ का वडा अध्यक्ष बाबुराम सुनार पन्थीले खानेपानी र सरसफाइको अधिकार हासिल गर्न सरसफाइको महत्व बुझेर नागरिक स्वयंले सरसफाइको जिम्मेवारी लिनु पर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि यु एन हेविटाटका जिल्ला संयोजक बिष्णु दवाडीले महिलाहरूले आफ्नो प्रजनन अंग र त्यसको भुमिका प्रति जानकार भएर महिला तथा महिनावारी हुनुमा गर्व गर्नुपर्ने बताउनुभयो । महिनावारी हुँदाको समयमा गरिने सामाजिक विभेद हटाउन, सुरक्षित तरिका अपनाएर महिनावारी व्यवस्थापन गर्नुपर्ने, विद्यालयमा महिनावारीमैत्री सुबिधाको व्यवस्थापन र कपडाको प्याड बनाउने तर्फ लाग्नुपर्ने उहाँको भनाई थियो ।

तालिममा महिनावारी स्वच्छता, पुर्ण सरसफाइका चरणहरू, सूचकहरू, हात धुनुपर्ने लगायत विषयमा सहजीकरण गरिएको थियो ।

तालिमको अन्त्यमा पहिले फेर्ने कपडा पनि नहुने र पेन्टी लगाउने, प्याड प्रयोग गर्ने जस्ता ज्ञान र सुविधा नभएको, धोती वा सारीमा चार दिन बिताउनुपर्ने र नुहाएर अर्को लुगा फेर्ने अवस्थामा बार्ने चलन भएपनि अहिलेको युगमा बार्नु विभेद हो भन्ने सहभागीले महसुस गरेका छन् ।