बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

मेलुङका हरेक धारामा वयस्क र बालबालिकाका लागि छुट्टै धारा

दोलखा : दोलखाको मेलुङ गाउँपालिका – ७ मेलुङमा ६१ वटा बालमैत्री धारा बनाइएको छ ।  ठूला व्यक्ति र बालबालिकाले समेत पानी थाप्न र पिउन मिल्ने गरी धारा निर्माण गरिएको हो । हरेक धारामा वयस्क व्यक्ति र बालबालिकाका लागि छुट्टाछुट्टै धारा बनाइएको छ ।

भूकम्प पछि खानेपानीको समस्या झेलिरहेका मेलुङका बासिन्दाका लागि ८८ लाख ७४ हजार ९२० रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो ।

सामुदायिक खानेपानी आपूर्ति, विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्घन परियोजना अन्तर्गत इन्टेक २ वटा, पानी वितरण ट्यांकी १ वटा, फोरोसिमेन्ट ट्यांकी १४ घनमिटर र १६ घनमिटरका २ वटा ट्याँकी तथा  ६१ वटा धारा निर्माण गरिएको दीपज्योति समाज सुधार संघका कार्यकारी निर्देशक मुकुन्द शिवाकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्नकाली आधारभूत विद्यालयको खानेपानी धारा निर्माण र धात धुने ठाउँका साथै शौचालय पुनःस्थापना तथा मर्मत सम्भार समेत गरिएको छ ।

खानेपानी तथा सरसफाइ सम्बन्धी सुविधाबाट विद्यालयका विद्यार्थी सहित  १८६ घरका १३ सय ५७ जना प्रत्यक्ष लाभान्वित भएका छन् । खानेपानी योजना पूरा भएपछि विद्यालय र गाउँमा खानेपानी समस्या समाधान भएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र चापागाईंले जानकारी दिनुभयो ।

खानेपानी ल्याउन लाग्ने समय आयआर्जनमा

मेलुङका बासिन्दाले घर आँगनमै खानेपानी प्राप्त गरेपछि बचेको समय अरु सिर्जनात्मक काममा लगाउने भएका छ । दैनिक खानेपानी लिनका लागि २०/२५ मिनेटको बाटो हिँडेर जानुपर्ने बाध्यता रहेको मेलुङका बासिन्दा खानेपानी योजना पूरा भएपछि त्यो समय आयआर्जनमा प्रयोग गरिने मेलुङ गाउँपालिका– ७ का वडाध्यक्ष नवराज खड्काले बताउनुभयो ।

खानेपानी योजना निर्माणका लागि कन्सर्न वल्र्डवाइड र दीपज्योति समाज सुधार संघले सहयोग गरेका हुन् ।  एक वर्षदेखि सञ्चालनमा रहेको परियोजना सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।

मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठले खानेपानीको सुविधा भएपछि स्थानीयबासिन्दाको जीवनस्तरमा सुधार आउने र सरसफाइमा समेत सघाउ पुग्ने बताउनुभयो ।