बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

यसरी तयार हुँदैछ, भूमिकास्थान न.पा. ४ को WASH Plan

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नं. ४ लाई सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तयार गरिने भएको छ ।

धारापानीको शान्ति माध्यमिक विद्यालयमा आज भएको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तर्जुमा कार्यशालाले पूर्ण सरसफाइ उन्मुख लक्ष्य तोकेको हो । कार्यशालाले वडाको खानेपानी, सरसफाइ र स्वच्छताको वर्तमान अबस्थाको विश्लेषण गरी अवसर र चुनौतीका सम्बन्धमा समेत छलफल गरी लक्ष्य हासिल गर्न रणनीतिहरु समेत तय गरेको छ ।

 

 

कार्यशालाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) बनाउन बाबुराम सुनारको संयोजकत्वमा पाँच सदस्यीय वास प्लान तर्जुमा कार्यदल समेत गठन गरिएको यु.एन.ह्याविटाटका अर्घाखाँची जिल्ला संयोजक विष्णु दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदलले यही माघ १५ भित्र (WASH Plan) लेखन कार्य सम्पन्न गरी वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई पेश गर्नुपर्नेछ ।

लक्ष्य प्राप्तिका लागि अपनाइने रणनीतिहरु :

  • यही माघ १५ भित्रमा कार्यदलले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) लेखन कार्य सम्पन्न गरि समितिलाई पेश गर्ने निर्णय भएको छ ।
  • पूर्ण सरसफाइ अभियानमा योजना गरिएका क्षमता अभिवृद्धिमूलक तालिमहरु र अवलोकन भ्रमण फाल्गुण महिनाभित्र सहजीकरण गर्ने निकायबाट गरिसक्ने योजना रहेको छ । 
  • सबै बिद्यालयले साप्ताहिक रुपमा पूर्ण सरसफाइ सचेतना कक्षा र मासिक रुपमा सेवा क्षेत्रका अभिभावकहरुलाई समेत लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने रणनीति अपनाइने भएको छ । 
  • सबै संघसंस्था र कार्यालयहरुले सरसफाइमा नमुना बनेर सेवाग्राहीहरुमा समेत पूर्ण सरसफाइका लागि सूचना र सचेतना फैलाउने कार्य गर्ने निर्णय भएको छ । 
  • हरेक महिना वडा समन्वय समितिको बैठक पहिलो शनिबार १ बजे बस्ने र १० मिनेट भन्दा ढिलो आएमा रु १०० जरिवाना गर्ने नियम बनाइने भएको छ । 
  • हरेक टोलमा मल नबने, बिक्री नहुने, पुनःप्रयोगमा नआउने, जलाउदा हानिकारक हुने प्लाष्टिक तथा सीसा, टीन जन्य फोहोर व्यवस्थापन गर्न सार्वजनिक ठाउँहरुमा डोका वा डष्टबिनहरु राख्ने, फोहोर पुर्ने खाडल खन्ने भएको छ । 
  • जथाभावी फोहोर फाल्नेलाई नेपाल सरकारले तोके बमोजिम रु ५ सय देखि ५ हजार जरिवाना गर्ने जनाइएको छ ।
  • खानेपानीको मुहान देखि मुख सम्म सुरक्षा र सरसफाइमा जोड दिई सुरक्षित खानेपानीमा सबैको पहुँच सुनिश्चित गर्न पानी परिक्षण, पानी शुद्धिकरण, खानेपानीको मर्मत संभार पक्ष, पाइपको व्यवस्थापन आदि पक्षमा खानेपानी उपभोक्ता समितिहरु र उपभोक्ताहरुलाई जिम्मेवार बनाइने भएको छ ।
  • घरघरमा आवश्यकता अनुसार चर्पीको स्तरोन्नति र सरसफाइ, व्यक्तिगत सरसफाइ, साबुन पानीले हातधुने, महिनावारी हुँदाको सरसफाइ व्यवस्थापन, सुरक्षित खानेकुरा खाने र सुरक्षित पानी पिउने बानीको विकास गर्न टोल भेला गरी मासिक रुपमा बिषयबस्तु तोकेर अभियान सञ्चालन गरिने भएको छ ।
  • सफा र स्वच्छ घरका सूचकहरु चैत्र मसान्त भित्रै पुरा गरिसक्ने गरी कार्य योजना बनेको छ ।
  • वडामा कम्तिमा एउटा पार्क (मकै डाँडामा) निर्माण गरिने भएको छ । 
  • फलामखिल्ली समुदायलाई फाल्गुण १५ गते भित्रमा सरसफाइ नमुना बस्तीको रुपमा स्वघोषणा गरिसक्ने निर्णय भएको छ ।

सबैको एउटै स्वर, सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख वडा नं. चार

सन् २०१८ भित्र भूमिकास्थान नगरपालिका ४ लाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्न “स्वास्थ्य इज्जत प्रतिष्ठा समृद्धि र सभ्यता, पूर्ण सरसफाइ उन्मुख जीवनशैली भूनपा ४ को प्रतिबद्धता” भन्ने नारा तय गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका यु.एन.ह्याविटाटका अर्घाखाँची जिल्ला संयोजक विष्णु दवाडीले अर्घाखाँची जिल्लाको तेश्रो खुल्ला दिसामुक्त तथा पहिलो खुल्ला प्लाष्टिकमुक्त गाविसको पहिचान बोकेको भूमिकास्थान नगरपालिका ४ लाई कम समयमा नयाँ पहिचान दिन ढिलाई गर्न नहुने र सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

 

 

वार्ड वाससीसीका अध्यक्ष एवं भूमिकास्थान नगरपालिकाको वडा नं ४ का वडा अध्यक्ष बाबुराम सुनार पन्थीले वडालाई पूर्ण सरसफाइ उन्मुख वडा बनाउन रचनात्मक तरिकाले काम अगाडि बढाइने र यसमा सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

कार्यशाला, ग्लोबल सेनिटेसन फण्ड यु.एन ह्याविटाट (GSF/UN-Habitat)  को सहयोगमा प्रकाश सचेतन समूह (PRAG) अर्घाखाँचीको सहजीकरण तथा भूमिकास्थान नगरपालिकाको वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (W-WASH-CC)  को आयोजनामा सम्पन्न भएको हो ।