बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

खानेपानी आयोजना विग्रिएपछि होटल व्यवसाय संकटमा

बैतडी : विग्रिएको खानेपानी आयोजना सञ्चालन गर्न नसक्दा बैतडीको व्यापारिक केन्द्र सतबाजमा खोलिएका होटल तथा रेष्टुरेन्ट बन्द हुने अवस्थामा पुगेको छन् । खानेपानीको अभावमा होटल व्यवसाय सञ्चालन गर्नै समस्या भएपछि बन्द हुने अवस्थामा पुगेको हो ।

एसियाली विकास बैंकको सहयोगमा ०६७ सालमा ८ सय मिटर तलको कटमोली खोलाबाट पम्पिङ प्रणालीबाट ल्याएको पानी विग्रिएपछि खानेपानीको अभाव चुलिएको हो ।

बिग्रिएको खानेपानी आयो १र२ पटक मर्मत गरेर सञ्चालनमा ल्याए पनि पटक–पटक बिग्रिएर आर्थिक भार थेग्न नसकेपछि मर्मतमा ध्यान दिन छाडेको उपभोक्ता बताउँछन् ।

सुर्नया गाउँपालिका २ का वडा अध्यक्ष हर्कबहादुर पाण्डे भने मर्मतका लागि वडा र गाउँपालिकाबाट सहयोगको पहल गर्ने बताउनुहुन्छ ।

सतबाजमा पानीको समस्याले खानेकुरै पाउन छाडेपछि गाडी चालकले खाना र खाजा खुवाउन सिल्लेगाडा, पाटन, थुम लगायतका बजारमा गाडी रोक्न थालेका छन् ।

गाडीले ओसारेको भरमा धान्दै होटल व्यवसाय

सतबाजका होटल व्यवसायीले गाडीमा पानी बोकेर व्यवसाय सञ्चालन गर्दै आएका छन् । गाडीले प्रतिलिटर २ रुपैयाँ ढुवानी खर्च लिने गरेको छ । पानी आपूर्ति गर्न नसक्दा व्यवसाय छाड्ने अवस्था आएको १० वर्षदेखि होटल सञ्चालन गर्दै आएका हिमानी होटल एन्ड लजका सञ्चालक भानसिंह बोहराले बताउनुभयो । बजारमा ३ दर्जन होटल र पसल छन् ।

होटलमा आउने ग्राहकले शौचालय प्रयोग गर्न पाउँदैनन् । बोकेर ल्याएको पानीले शौचालय प्रयोगमा ल्याउन नसकेको बोहराले बताउनुभयो । व्यवसायीले ८ किलोमिटर टाढा धर्मघरको सिदौनखोला मुहानको पानी गाडीबाट ढुवानी गर्छन् ।
बर्षातको आकाशे पानी संकलन गरेर सरसफाइका लागि प्रयोग गरिएको छ ।

भरियामार्फत चिल्लेपानी गाउँबाट २ घण्टा बोकाएर ३० लिटरको ६० रुपैयाँ तिर्नपर्छ । गाडीमा १ हजार लिटर बोकेको १८ सय भाडा पर्ने पाण्डे होटलका सञ्चालक दिपेन्द्र पाण्डेले बताउनुभयो । बजारमा एउटा गाडीलाई पालैपालो पानी ओसार्न राखेका छन् । सातदिनमा एकपटक पानी ओसार्ने पालो आउने पाण्डेले बताउनुभयो ।