बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

भुमिकास्थान नपाको वडा नं. ३ ले पनि तोक्यो पुर्ण सरसफाइको लक्ष्य

अर्घाखाँची : भुमिकास्थान नगरपालिकाको वडा नं. ३ ले आगामी २०७५ मंसिर १५ गते पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने लक्ष्य तोकेको छ । वडा नं. ४ ले सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्य तोकेको भोलिपल्ट आज वडा नं. ३ ले पनि सरसफाइको लक्ष्य तोकेको हो । वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्षले ११ महिनापछि हुने कार्यक्रमको प्रमुख अथितिलाइ आजै निम्तो दिनुभएको छ ।

 

खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तर्जुमा कार्यशालाले भुमिकास्थान ३ लाई सरसफाइ उन्मुख वडा घोषणा गर्ने लक्ष्य तोक्नु अघि चार समूहमा विभाजित भई विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको वर्तमान अवस्था र सुधार गर्नुपर्ने पक्षहरू, पुर्ण सरसफाइ अभियानमा आउन सक्ने चुनौतीहरू र त्यसको समाधानका लागि अपनाइने उपायहरूका विषयमा विस्तृत छलफल गरी प्रस्तुतीकरण गरिएको थियो ।

कार्यशालामा समूहगत छलफल पछि पुर्ण सरसफाइको लक्ष्य निर्धारण गरी यसको नारा, अपनाइने रणनीति तथा कार्यनीतिका विषयमा व्यापक छलफल भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका यु एन हेविटाटका अर्घाखाँची जिल्ला संयोजक बिष्णु दवाडीले जानकारी दिनुभयो ।

 

अभियानको नारा

‘पुर्ण सरसफाइ उन्मुख वडा घोषणा र दीगोपना हाम्रो सरोकार, सुरक्षित खाना पानी स्वस्थकर आनीबानी हामी जिम्मेवार’ भन्ने नारा तय गरिएको छ । कार्यशालाले पुर्ण सरसफाइ अभियान अन्तर्गत सञ्चालन गर्नुपर्ने कृयाकलापहरू सम्बन्धी कार्ययोजना समेत तयार पारेको छ ।

माघ महिनाभित्रै WASH Plan र सरसफाइ आचारसंहिता तयार पारेर कार्यान्वयन गर्ने प्रस्ताव कार्यशालाले पारित गरेको छ । यस्तै पुर्ण सरसफाइ अभियान टोल, विद्यालय सबैको प्रयासमा सञ्चालन गर्ने निर्णय भएको छ ।

कार्यशालामा प्रमुख अतिथि एवं यु एन हेविटाटका अर्घाखाँची जिल्ला संयोजक बिष्णु दवाडीले विगतमा हासि गरेका उपलब्धिलाई संस्थागत गर्दै पुर्ण सरसफाइ अभियानमा एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

वडा अध्यक्ष एवं वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष बालकृष्ण बञ्जाडेले वडालाई पुर्ण सरसफाइ उन्मुख वडा घोषणा आफू प्रतिबद्ध रहेको र यसमा सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

Global Sanitation Fund/ UN-Habitat को सहयोग तथा प्रकाश सचेतन समुहको सहजीकरणमा भुमिकास्थान नगरपालिका वडा नं. ३ स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा सञ्चालित कार्यशालामा ७० जना भन्दा बढीको सहभागिता थियो ।