बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

नाला र ढलसँगै खानेपानीका पाइप

चरिकोट : दोलखाको सदरमुकाम चरिकोटमा वितरण गरिएका अधिकांश खानेपानीको पाइप ढलसँगै ल्याइएको छ। विभिन्न उपभोक्ता समिति मार्फत चरिकोटमा बिच्छ्याइएका खानेपानीका पाइप ढल र नालामा मिसाइए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खानेपानीको पाइप ढल र नाला सँगै मिसाएर खुवाएको भन्दै स्थानीयहरू चिन्तित भएका छन्। चरिकोटको मूल बजार, चरिघ्याङ, पेट्रोल पम्प, भालु खोला लगाएतका क्षेत्रमा बिछ्याइएका खानेपानीको पाइप ढल र नाला सँगै राखिएको छ।

ढलसँगै पाइप लैजाँदा पाइप जडान गरेको ठाउँ, सकेट, व्रास, युनियनहरूबाट ढल पानीमा मिसिन सक्ने खाने पानी कार्यालय दोलखाका सबइन्जिनियर दीपकराज रोकाको भनाइ छ। ढलबाट पाइप लैजानै नमिल्ने बताउँदै उनले पानी वितरण प्रक्रिया अस्तव्यस्त रहेको स्वीकार गरे।

कार्यालयले खानेपानीको सम्पूर्ण काम उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकेकोले आफूहरूले केही गर्न नसक्ने उनको भनाई छ। कार्यालयले पानी ट्यांकीदेखि चेम्बरसम्म पाइपलाइनको लागि उपभोक्ता समितिलाई पैसा दिने गरेको र चेम्बरबाट घरसम्म पुर्या उने काम उपभोक्ताकै भएकोले यस्मा सबैजना सचेत रहन जरुरी रहेको बताए।

खानेपानी उपभोक्ताको लागि सकेसम्म एचडीपी पाइप प्रयोग गर्न अनुरोध गर्दै सबइन्जियर रोकाले कम्तिमा ९० सेन्टिमिटर गहिराइमा पाइप पुरेर लैजानु पर्ने बताए। तर चरिकोटका अधिकांश पाइप बाहिरै छन् र ठाउँ ठाउँमा चुहावटको समस्या छ।

चरिकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बद्रीकुमार श्रेष्ठ पनि चरिकोटमा हचुवाको भरमा पानी वितरण भइरहेको स्वीकार गर्छन्। उनले ढल र नालाबाट पाइप लैजानु बाध्यता रहेको बताउँदै आर्थिक अभावका कारण समस्या भएको बताए। पहिला थोरै उपभोक्ता भएकोले सहज भए पनि उपभोक्ता बढेकाले व्यवस्थापन असहज भएको उनको भनाई छ।

श्रेष्ठले आफूहरूलाई जानकारी हुँदाहुँदै पनि मर्मत सम्भारको लागि रकम नहुँदा त्यत्तिकै बस्नु परेको बताए। चरिकोटमा करिब १ हजार २ सय खानेपानीका उपभोक्ता रहेको खबर अन्नपूर्ण पोष्टले छापेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाका सूचना अधिकारी डम्बर थोकरले चरिकोटको खानेपानी पिउन योग्य नभएको बताए। कार्यालयले गरेको अध्ययनले पानीमा अत्यधिक कोलिफर्म रहेको देखाएको छ। अधिकांश रोगहरू पानीबाट सर्ने भएकोले पानी उमालेरमात्र खान तथा सावधानी अपनाउन उनको आग्रह छ।