बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

पानी प्रशोधन केन्द्र प्रयोगविहीन, ५० हजार उपभोक्ता दुषित पानी पिउन बाध्य

इलाम : इलाममा पानी शुद्धीकरण गर्न बनाएको प्रशोधन केन्द्र प्रयोगविहीन भएपछि उपभोक्ता दुषित पानी पिउन बाध्य छन् । सन्दकपुर गाउपालिकाको चारखाँदे छेउमा बनाएको प्रशोधन केन्द्र प्रयोगमा नआएपछि पानी शुद्धीकरण नगरी घरघरमा पठाउने गरिएको छ ।

छ वर्ष अगाडी चार करोड रुपैंयाँको लगानीमा निर्माण भएको प्रशोधन केन्द्र अहिलेसम्म प्रयोगमा आएको छैन । अहिले इलाम नगरपालिकाको कार्यालयले ठाडे खोल्साको पानी सिधै उपभोक्ताको धारामा पठाइरहेको छ । ठाडे खोल्साको माथिल्लो भेगमा माईपताल बस्ती छ ।

प्रशोधन केन्द्र प्रयोगमा नआएपछि सदरमुकामका ३ हजार ७२० धाराका झण्डै ५० हजार उपभोक्ता शुद्ध पानी पिउनबाट वञ्चित भएका छन् । केही समय अघि इलाम बजारको पानीको नमुना परीक्षण गर्दा कोलिफर्म भेटिएको थियो ।

कोलिफर्मयुक्त पानी स्वास्थ्यका लागि हानिकारक

कोलिफर्मयुक्त पानी मानव स्वास्थ्यका लागि हानिकारक हुने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवन कुमार मल्लले बताउनुभयो । पानीको मुहान दुषित भएपछि पछिल्ला समय इलाममा पानीजन्य रोगहरु बढ्दै गएको प्रमुख मल्लले बताउनुभयो ।

सन्दकपुर गाउँपालिकामा सडक निर्माण भइरहेकाले पनि खानेपानी दुषित भएको उहाँले बताउनुभयो । सडक निर्माणको क्रममा सदरमुकामका लागि ३१ किलोमिटर टाढाको सन्दकपुर गाउँपालिका माइमझुवाको गिताङ खोलाको मुहानबाट ल्याईएको खानेपानीको पाइपमा क्षति पुगेको छ ।