बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

हाकिम साबहरु हुल बाँधेर फलामखिली र चौतारामा पुगेपछि….

अर्घाखाँची : शुक्रबार बिहान अर्घाखाँचीका स्थानीय विकास अधिकारी हरिनारायण बेलबासे अघि अघि, पछि पछि लागे जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुखहरु ।

बेलबासेको साथमा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्री, जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, भुमिकास्थान नगरपालिकाको कार्यालय, गैरसरकारी संस्था महासंघ अर्घाखाँचीका अध्यक्ष भोजराज अध्यक्ष, वडा नं. ३ का अध्यक्ष बालकृष्ण बञ्जाडे, वडा नं. ४ का अध्यक्ष बाबुराम सुनार हुनुहुन्थ्यो ।

 

साथमा यु एन हेविटाट, नेपाल पत्रकार महासंघ, वास जर्नालिष्ट फोरम, स्वास्थ्य चौकी, प्रकाश सचेतन समूहका प्रमुख तथा प्रतिनिधिहरु हुनुहुन्थ्यो ।

पूर्ण सरसफाइमा नमुना बन्दै गरेका भुमिकास्थान नगरपालिका वडा नं ४ को फलामखिली र वडा नं ३ को चौतारा ठूलाखर्क समुदायको अनुगमनका लागि सरसफाइसँग सरोकारवाला सबै निकाय एकीकृत भएर जाँदै थियो ।

फलामखिलीमा पुग्दा हरेक घरमा निर्माण गरिएको पक्की जुठेल्ना, भाँडा सुकाउने चाङ, टुटी धाराले अनुगमन टोलीलाई पर्खिरहेको थियो । त्यसै माथि थपियो स्थानीयबासिन्दाको फूलमाला र अबिरको स्वागत ।

 

स्थानीय विकास अधिकारी हरिनारायण बेलबासे दंग हुनुभयो । स्थानीय बासिन्दाको स्वागतले भन्दा पनि उहाँलाई पूर्ण सरसफाइका सूचकहरु देखेर दंग हुनुभएको रहेछ । हरेक घरको आँगनमा बनाएको जुठेल्ना, चाङ, टुटी धारा भएको पानीको भाँडा सँग पनि सम्बाद गर्नुभयो ।

स्थानीय विकास अधिकारी बेलबासेले समुदायमा आयोजित उपभोक्ता तथा सरोकारवालासँगको अन्तरक्रियामा पूर्ण सरसफाइमा आफु नमुना बनेर छिमेकी समुदायलाई उत्प्रेरणा जगाउन आग्रह गर्नुभयो । ‘सरसफाइलाई देखावटी रुपमा मात्र होइन, वास्तविक रूपमा नियमित जीवनशैलीमा उतार्नुपर्छ, परिवर्तन हामीले आफ्नै घर आँगनबाट शुरु गरिसकेका रहेछौं, यसलाई निरन्तरता दिन आवश्यक छ ।’ उहाँले भन्नुभयो ।

खाजा : भुटेको मकै, फर्सीको बियाँ र टमाटरको अचार

 

‘भुटेको मकै टपरीमा, दुनामा फर्सीको बियाँ र टमाटरबाट बनेको स्वादिष्ट अचार र मोही’ मगर भेषभुषामा सजिएका दिदीबहिनीले खाजा टक्राए ।

खाजाको रुपमा प्रायः चाउचाउ, मःमः, थुक्पा, चाउमिन जस्ता खानेकुरामा बानी पर्दै आएको अनुगमन टोलीले त्यहाँ त्यस्तो खाजाको अपेक्षा नै गरेको थिएन ।

यु एन हेविटाटका अर्घाखाँची जिल्ला संयोजक बिष्णु दवाडी खुसी हुँदै यो पनि पूर्ण सरसफाइ अभियानको महत्वपूर्ण सफलता भएको बताउनुभयो । ‘हो यो हो नि खाजा, सुरक्षित खाना, हामीले खाने गरेको जङ्क फुड सुरक्षित नहुन सक्छ, कहाँ कहिले प्याकिङ गरेको खाना सुरक्षित हुने कुरै भएन, तर अहिले आँखै अगाडि भुटेको मकै, फर्सीको बियाँ, टमाटरको अचार आहा ! ’

फलामखिली फागुन १५ भित्र र चौतारालाई फागुन मसान्तभित्र पुर्ण सरसफाइ उन्मुख समुदाय घोषणा गर्ने लक्ष्य सहित पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको छ ।

फलामखिली र चौतारालाई पुर्ण सरसफाइमा नमुना बनाउन ग्लोबल सेनिटेसन फण्ड, यु एन हेविटाटको सहयोगमा प्रकाश सचेतन समुहले सहजीकरण गरिरहेको छ ।