बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

फोहरले भरिएको बाँगी खोला यसरी भयो २ घण्टामै सफा

अर्घाखाँची : छिछी गरेर घिन मान्ने कोही थिएनन् । कोही फोहोर टिप्न लागे, कोही खोलामै हामफालेर बोरा र प्लाष्टिक बटुल्न थाले, कोही संकलन गरेको फोहोर एकै ठाउँमा ओसार्न थाले । अनि हातले संकलन गरेर मात्र असम्भव हुने ठाउँमा डोजर नै चलाए ।

 

सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विश्वकर्माको अगुवाईमा भएको बाँगी खोला सरसफाइमा बजारबासी, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी सबै खटिएपछि २ घण्टामै खोलाको रुप फेरियो ।

आज विहान साढे ८ बजेदेखि १०:३० बजे सम्म ईन्द्रेणी र शान्ति बगैंचाटोल विकास संस्था बीच पर्ने फलामेपुल मुनिको भाग सरसफाइ गरिएको हो ।

 

ग्लोबल सेनिटेसन फण्ड र यु एन हेविटाटको सहयोग र प्रकाश सचेतन समूहको सहजीकरणमा सन्धिखर्क नगरपालिकाले पुस ८ गतेदेखि हरेक शनिबार खोला सरसफाइ गर्दै आएको छ । तेस्रो हप्तासम्म आइपुग्दा बाँगी खोलाको करिब १ किलोमिटर भाग सफा भएको छ ।

 

अर्घाखाँचीको बाँगी खोला मात्र सरसफाइ नगरी बाँकी खोलामा पनि सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउदै यु एन हेविटाटका जिल्ला संयोजक बिष्णु दवाडीले  वडा कार्यालयले सौजन्य खोजेरै भए पनि सावधानी तथा सन्देशमुलक बोर्ड राख्न सुझाव दिनुभयो । 

सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर बिश्वकर्माले फोहरमैला ब्यबस्थापन ऐन बमोजिम ५ सय देखि ५ हजार रुपैयाँ जरीवाना नगराए सम्म फोहोर फाल्ने बानीमा सुधार नआउने बताउनुभयो । उहाँले सभ्य समाजका शत्रुहरुलाई कार्वाही गरेरै भएपनि सन्धिखर्क नगरपालिका क्षेत्रलाई सफा र स्वच्छ बनाउने दाबी गर्नुभयो ।

 

यस्तै वडा नं १ का अध्यक्ष युवराज वन्जाडेले सरोकारवालासँग समन्वय र सहकार्य गरी वडा कार्यालयले साप्ताहिक रुपमा सरसफाइ अभियान सञ्चालन गर्ने बताउनुभयो ।