बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

चर्पी बनाउन नसक्दा दुर्गीको आँखाबाट चुहेको आँशु

मनिसा कार्की, युम्स, सिरहा

चर्पी सबैका लागि चाहिन्छ । झनै अपाङ्गता भएका व्यक्तिहरुका लागि चर्पीको महत्व अझ बढी हुन्छ । यो विषयमा म आफैले साक्षात्कार गरेपछि अपाङ्गता भएका व्यक्तिहरुका लागि चर्पी र अझ अपाङ्गतामैत्री चर्पी किन आवश्यक छ भन्ने कुरा राम्ररी बुझ्न पाएँ ।

खासमा इनारको विषयमा बुझ्न गएको हाम्रो टोलीले त्यहाँ एक जना अपाङ्गता भएको व्यक्तिलाई चर्पी नहुँदा पर्ने समस्याका विषयमा कुरा ग-यौं ।

कुरा सिरहा नगरपालिकाको वार्ड नं ६ माँ भगवती टोलको हो । सिरहा सदरमुकामबाट पश्चिमतिर करिव ३ किलोमिटर गएपछि पुगिन्छ माँ भगवती टोल । त्यही टोलमा भेट्यौं, अन्दाजी ६५ बर्षकी दुर्गी देवी महरा । शारीरिक रुपमा अपाङ्गता भएकी दुर्गी देवीले ४ महिना अघि आँखाको ज्योति समेत गुमाउनु भएछ ।

अति नाजुक आर्थिक अवस्थाबाट गुज्रिएको दुर्गीदेवी महरासँग एक छोरी र ४ जना नातीनातिना समेत हुर्किरहेका छन् ।
कुराकानीका क्रममा थाहा भयो जुवाई विदेशमा गएपछि ४ जना नातीनातिना सहित छोरी पनि माइतमै आएर बस्नु भएको रहेछ ।

 

                                                       नाती सँग खाना खाँदै गरेकी दुर्गी देवी महरा

 

शारीरिक अपाङ्गता, हिडडुल गर्न नसक्ने, त्यही माथि आँखाको ज्योति पनि गुमेपछि सरसफाइ सँग सम्बन्धित समस्या त निक्कै आउँदो हो ? मेरो मनभित्र यो कुरा खेल्न थाल्यो । मैले उहाँसँगको सम्वाद यही जिज्ञासाबाट शुरुवात गरें ।

‘पहिला सानो खरको झुप्री घर थियो, चर्पी थिएन घिस्रदै बारीतिर जान्थे, पछि अफिसका सर मिसहरु आएर हेरेपछि मेरो घरमा चर्पी बनाउन लगाइदिनुभयो, घरदेखि पछाडि पट्टि थियो चर्पी, तर मलाई असजिलो थियो कहिलेकाही चाहिं साह्रै अप्ठ्यारो पथ्र्यो, पानी परेको बेला हिलो हुन्थ्यो ।’ दुर्गी देवी महराले दुःखको बेलिविस्तार लगाउनुभयो ।

मलाई याद भयो, चर्पी बनाउन नसक्ने अति गरिब व्यक्तिलाई टोल विकास संस्थाले केही आर्थिक सहयोग गर्ने गरेको छ । हुन त केही वर्ष पहिला सिरहा नगरपालिकाले ३ वटा रिङ र एक ढक्कन पनि दिएको रहेछ, तर त्यसको सदुपयोग भएको थिएन ।

शहरी वातावरण व्यवस्थापन समाज (युम्स) ले आफ्नो कार्यक्षेत्रको हरेक टोल विकास संस्थामा वीउ पुँजी स्वरुप आर्थिक सहयोग गरिरहेको छ । त्यही रकमबाट टोल विकास संस्थाले अति विपन्न परिवारलाई सहयोग गर्छन् । सिरहा नगरपालिकाको वार्ड नं ६ मा ७ वटा टोल विकास संस्थाहरु छन् ।

दुर्गीको पहिलेको खरको झुप्री अहिले कोठलीमा परिणत भएको छ । जनता आवास कार्यक्रमले दुई कोठाको घर बनाइदिए पछि पहिले भन्दा केही सहज त भएको छ, तर छानो भने अहिलेसम्म पनि लगाइदिएको रहेनछ ।

जनता आवास कार्यक्रमले घर पूर्ण रुपमा सम्पन्न नगरेको मात्र होइन, पहिले भएको चर्पी पनि घर निर्माणको क्रममा भत्काइदिएछ ।

‘अहिले कस्तो छ त ? चर्पी सुविधा ?’ प्रश्न भूँइमा खस्न नपाउँदै दुर्गीले भन्नुभयो ‘अहिले त घरभन्दा गहिराइमा पुग्यो झन्, एकदमै अप्ठ्यारोे भएको छ । आफु हिड्न नसक्ने, आँखा पनि देख्दिन साह्रै विजोक भएको छ मेरो ।

उहाँले चर्पीको विषयमा के भन्नुहुन्छ ? भन्ने खुल्दुली जागेको थियो । कुराकानी गरिरहँदा चर्पीको दुरावस्था मैले देखिसकेको थिएँ । फेरि एक पटक आँखा डुलाएँ, चर्पीको छेउछाउ इटा थुपारिएको थियो । प्यानसेटमा फुटेको तुम्लेट खाँदिएको थियो ।

 

                                                                    जगसम्म निर्माण भएको दुर्गीको चर्पीको दुरावस्था

चर्पीको महत्व नबुझ्दा चर्पी बनाउन लागेको हजारौं रुपैयाँ त्यत्तिकै खेर गइरहेकोमा म भित्र भित्रै दुःखी भएँ । दुर्गीले आफ्नो दुःख कहन रोकेको थिएन ।

‘छोरी अरुको खेतमा धान बोक्न गएकी छिन्, भरे आउछे अनि बोकेर खेतमा लैजान्छे र दिसा पिसाव गर्छु अनि फेरि बोकेर भित्र लैजान्छे । गरिव छौं, घर त बनाइदिए नि ! तर छानो छैन, झ्याल ढोका खुल्लै छ चिसो धेरै बढेको छ । अस्ति युम्स अफिसले २ वटा कम्वल, २ वोटा राम्रो तकिया, तन्ना, सावुन अनि के – के दिएको छ अलि आराम मिलेको छ ।’

पहिले बनाएको चर्पी भत्किएपछि उहाँलाई पर्नु समस्या परेको रहेछ । विहान विहान निस्कने गस्तीका विषयमा पनि उहाँले सुन्नुभएको रहेछ । ‘गस्ती आउँछन् रे नि ? आश्चर्य मान्दै उहाँले भन्नुभयो ‘गस्तीले भेटे ५ सय जरिवाना लिन्छन रे ! डर पनि लाग्छ, लाज पनि हुन्छ । गर्न केही सकेको होइन विस्तारै टाट लगाएर बनाउछे होला छोरीले ।’

‘चर्पी बनाउन सके अहिलेको समस्याबाट पार पाइन्थ्यो कि भन्ने छ दुर्गी देवी महराको । तर पहिले नै बनाएको चर्पी यो हालतमा पु-याएको दुर्गीले नयाँ चर्पी नै बनाएपनि अवस्था उही त होला नि ?’ मनभित्र यस्तै कुराहरु सोचिरहँदा दुर्गीले मेरो मनकै कुरा थाहा पाए झैं गरी भन्नुभयो ‘चर्पी त बनाउ भन्छु नि ? तर नकमाएको दिन खान त मुस्किल पर्छ कसरी बनाउनु चर्पी ?’

…..यति कुरा भनिसक्दा उहाँको आँखाबाट आँसुका ढिक्का झर्न थालिसकेको थियो ।

‘भएको चर्पीलाई संरक्षण गरेर प्रयोग गर्न चाहिं नसक्ने अनि चर्पीको कुरा गर्दा यस्तो भए यसरी प्रयोग गर्थें भनेर मनभित्र चर्पीको रेखा चाहिं कसरी कोर्न सकेका होलान् ?’ ……त्यसपछि मेरो मनभरि यही कुरा खेलिरह्यो ।

सम्बन्धित शीर्षकहरु