बुधबार, माघ ३, २०७४   Wednesday, January 17, 2018
खानेपानी र सरसफाइ क्षेत्रको डिजिटल पत्रिका

खुला दिसामुक्त राष्ट्र बनाउन के कुराले रोक्यो ? वास सम्बादमा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव प्रेमकृष्ण श्रेष्ठ

न् २०१७ भित्र सबै नेपालीको घरमा आधारभूत तहको सरसफाइ सुविधा पु-याउने सरकारको लक्ष्य अन्ततः पूरा हुन सकेन । पाँच प्रतिशत नेपालीले चर्पी नबनाउँदा सरकारले तोकेकै समयमा लक्ष्य पूरा गर्न नसकेको हो । ‘हात्ती छिर्यो पुच्छर अड्कियो’ यो नेपाली उखान जस्तै भएको छ नेपालको सरसफाइ अभियान । नेपाललाई खुलादिसामुक्त राष्ट्र बनाउन के कुराले रोक्यो ? सरसफाइ अभियानमा के कस्ता अवरोधहरु आइपरे ? अब कसरी अगाडि बढ्नुपर्ला ?

वास सम्बादमा खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख एवं राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव प्रेमकृष्ण श्रेष्ठ :

 

 

  • नेपाललाई खुलादिसामुक्त राष्ट्र बनाउन के कुराले रोक्यो ?

समय आएन । मिहेनत गर्दा गर्दै पनि भएन । बीचमा राष्ट्रिय पर्वहरु प-यो । जस्तै तीन तहको चुनाव प-यो । दुई तीन चरणको चुनावमा पाँच छ महिना त मानिसहरु त्यतै व्यस्त भए । तर पनि उपलब्धी राम्रै मान्नुपर्छ । अहिले ९५ प्रतिशत नेपालीको घरमा चर्पी बनेका छन् । बाँकी ५ प्रतिशतको घरमा मात्र चर्पी बन्न बाँकी छ । अहिले पनि बनाइरहेका छन् ।

  • सरसफाइ अभियानमा के कस्ता अवरोधहरु आइपरे ? जसले गर्दा तोकेकै समयमा लक्ष्य पूरा गर्न असफल भयौं ? 

धेरै छन् । सबैभन्दा ठूलो अवरोध त सचेतनाकै पक्ष थियो । परम्परागत बानी । मान्छेले चर्पी बनाउनुपर्छ भन्दा हिजो पनि बाहिरै गरेको, अहिले पनि गइरहेको के फरक प-यो र भन्ने भावनाले चर्पी बनाउन साह्रै गाह्रो भयो । चर्पी यसकारण चाहिन्छ भन्ने ज्ञानको अभाव थियो शुरु शुरुको कुरा गर्दा । तर हामीले सबै पक्ष लागेर चर्पीको महत्व भनेको यो हो, चर्पी भनेको खाली लुकेर दिसा गर्नका लागि मात्र होइन भन्ने भावना जगाइसकेका छौं, त्यो अवरोध चाहिं अब अलि अलि मात्र बाँकी छ । त्यो अवस्थाबाट निक्कै अगाडि बढिसक्यौं ।

त्यसपछि दोस्रो अवरोधको रुपमा हामीले के परम्परा बसाल्यौं भने खाना आफ्नै मिहेनतको पैसाले खाने, घर पनि आफ्नै मिहेनतको कमाइले बनाउने, लुगा पनि आफैले कमाएको पैसाले लगाउने तर चर्पी चाहिं अनुदानबाट मात्र बनाउने अथवा अरुले दिएपछि मात्र बनाउने बानी पा-यौं पहिले पहिले । त्यो दिएर पनि नसक्ने भयौं । जसरी घर आफै बनाउँछ, चर्पी पनि आफैले बनाउनुपर्छ भनेर हामीले अभियान थाल्यौं, त्यो अवरोध पनि धेरै हदसम्म घट्यो । यसले पनि चर्पी निर्माणमा अवरोध पु-यायो ।

त्यसलाई चिरेर अगाडि बढेपछि चर्पी निर्माणले गति लियो । सन् २०११ मा सरसफाइ अभियानको थालनी हुँदा ४३/४४ प्रतिशतमा रहेको चर्पी सुविधा अहिले ९५ प्रतिशतमा पु-यायौं । पाँच ५ बर्षमा ५० प्रतिशत थप्नु भनेको उल्लेखनिय प्रगति नै हो ।

नेपालमा त्यत्रो महाभूकम्प आयो, सात लाख घरहरु पूर्ण रुपमा क्षति भयो । चर्पीहरु पनि भत्किए, पुनःनिर्माणले अहिलेसम्म पूरा गति लिन सकेको छैन । तराईमा आएको बाढी पनि अर्को कारण रह्यो । बाढीले कति दिनसम्म जलमग्न भयो । कति दिनसम्म जानै नसक्ने अवस्था आयो ।

सरसफाइ गुरुयोजना २०११ ले भूकम्प, नाकाबन्दी, डुबान तथा बाढी, चुनाव केहीको पनि परिकल्पना गरेकै छैन । त्यसैले भूकम्प नआईदिएको भए, नाकाबन्दी नभइदिएको भए, बाढी नआईदिएको भए, चुनाव केही बर्ष अगाडि अर्थात केही समयपछि भइदिएको भए वा तराई आन्दोलन नभइदिएको भए यो बेला खुला दिसामुक्त राष्ट्र भइसक्थ्यो ।

 

  • अब देशलाई खुला दिसामुक्त गर्ने नयाँ मिति तय गर्छौ कि काम गर्दै जाँदा जुन दिन सकिन्छ, त्यही दिन घोषणा हुन्छ ?

अहिले पनि काम तदारुकताका साथ भइरहेको छ । अब यही गतिमा काम हुने हो भने कहिलेसम्म सकिन्छ भनेर आँकडा लिनुप-यो । कति भयो कति बाँकी रह्यो ? बाँकी हुनुको कारण र अब कहिलेसम्म सकिन्छ ? भनेर अध्ययन गर्नुप-यो, सरसल्लाह गर्नुप-यो ।

१५/२० दिन वा एक महिनामा सकिन पनि सक्छ । हामी आत्ममूल्याङ्कन गर्दै अगाडि बढ्छौं । मिति तोक्ने कुरा चाहिं हामी क्षेत्रमा काम गर्ने सरोकारवालाले सुझाव मात्र दिन सक्छौं । किनकि यो गुरुयोजना निर्माण गरेको र अहिलेको राष्ट्रिय लक्ष्य नेपाल सरकारले तोकेको हो । त्यसैले यसको म्याद थप्ने वा तोक्ने काम नेपाल सरकारको हो । हामीले आफ्नो सल्लाह सुझाव दिने हो । हामी छलफल चलाउँछौं ।

  • खुला दिसामुक्त राष्ट्र भएपछि अहिले कार्यरत संघसंस्थाहरुको भूमिका के हुन्छ ? कसरी अगाडि बढ्छ ?

गर्नुपर्ने धेरै बाँकी छ । हाम्रो गन्तव्य पूर्ण सरसफाइ हो । सरसफाइका सुविधाहरु र आनीबानीमा सुधार ल्याउन पहिलो खुड्किलोको रुपमा खुला दिसामुक्त अभियानलाई लिएको हो । अर्थात घर घरमा चर्पी बनाउने काम भएको हो । यो लक्ष्यको हामी नजिक नजिक पुगेका छौं ।

अरु थुप्रै कामहरु छन् हामी निरन्तर यी कामहरु अगाडि बढाउँछौं । जस्तो जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने, अहिले धेरैले गर्छन् तर सबैले धुँदैनन् । चर्पी बनाएर पनि सबैले सधैं प्रयोग गरेका छैनन् । अनि चर्पीको नियमित मर्मत सम्भार गर्ने काममा हामीले अभियान सञ्चालन गर्नुपर्नेछ ।

त्यस्तै अब घर घरमा चर्पी निर्माण भएपछि सार्वजनिक शौचालयहरुको अभाव जस्ता आवाजहरु उठ्न थालेको छ । त्यता तिर ध्यान दिनुपर्नेछ । यस्ता धेरै कामहरु छन् हामी यसलाई निरन्तरता दिन्छौं । समग्रमा एक लाइनमा भन्नुपर्दा पूर्ण सरसफाइयुक्त गाउँ, पूर्ण सरसफाइयुक्त समाज निर्माण गर्ने दिशामा हामी अगाडि बढ्छौं ।

  • सरसफाइ अभियानमा यहाँको सिकाई चाहिं के हो ?

एकदम राम्रो कुरा पनि मानिसलाई बुझाउन चाहिं समय लाग्दोरहेछ , यो मेरो सिकाइ हो । जस्तै बाहिर दिसा गर्नुहुँदैन भन्ने त थाहा छ नि ? तर यसलाई बुझाउन र मानिसले बुझ्न समय लाग्दोरहेछ । तर बुझिसकेपछि चाहिं मानिसले सहज रुपमा यसलाई ग्रहण गर्दोरहेछ ।

सरसफाइ भनेको चर्पी बन्नु र प्रयोग गर्नुसँगको सम्बन्ध मात्र होइन, सरसफाइको लामो असर छ । हाम्रो देशमा दुई दशक अघि सम्म पाँच बर्ष मुनिका बालबालिकाको मृत्युदर बार्षिक ३० हजार भन्दा बढी थियो । अहिले त्यो घटेर ५ हजार भन्दा कम भइसकेको छ । सरसफाइको सुविधा बढेपछि विद्यालयमा विद्यार्थीहरुको हाजिरी बढ्ने त्यो पनि विभिन्न अध्ययनले देखाएको छ ।

कहीं जाँदा गु आयो, गाउँ आयो भन्ने उखानै थियो । बाटोको छेउमा हिड्न गाह्रो हुन्थ्यो । तर आज कहीं कतै बाहेक देशको अधिकांश भागमा त्यस्तो दृश्य देख्न पाईदैन यद्यपि शून्य नै चाहिं भएको छैन । हामीले त हाम्रो समाजलाई सुन्दर बनाइरहेका छौं नि ?

  • सरसफाइको क्षेत्रमा योगदान पु¥याउनेहरुलाई सम्झिनु पर्दा क – कसको नाम लिनुहुन्छ ?

सरसफाइ मात्र एक मात्र यस्तो क्षेत्र होला जहाँ यत्ति धेरै तह र तप्काका मानिसहरुको सहभागिता छ । नाम लिएर साध्य नै हुँदैन ।

यसमा घर परिवारका सदस्य देखि, राजनीतिकर्मी, शिक्षकहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, पहिलेका गाउँ विकास समितिका प्रमुखहरु, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरु उहाँहरुकै कारण सरसफाइ क्षेत्र यो उचाईमा आइपुग्न सम्भव भएको हो, उहाँहरु सबै धन्यबादका पात्र हुनुहुन्छ ।

सबैभन्दा बढी त ती घरधुरीहरु, जसले छिमेकी देशमा चर्पी बनाउन दशौं हजार रकम दिएपनि आफ्नो देशमा आफ्नो बलबुताले चर्पी बनाएर प्रयोग गरे र छरछिमेकीलाई समेत प्रयोग गर्न र बनाउन सघाए । ती लाखौ लाख नागरिकलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु ।

सम्बन्धित शीर्षकहरु