काठमाडौ ४ चैत्र । प्राकृतिक रुपमा वग्ने खोला वा नदी ती कुनै पनि फोहोर हुदैनन् । ती कलकल बग्ने खोला तथा नदीमा जब मानिसले फोहोर मिसाउन थाल्छन् अनि फोहोरमा परिणत हुदै जान्छ । हाम्रा दैनिक क्रियाकलापहरु, खाने, नुहाउने, भाँडा माझ्ने, कपडा धुने चर्पी सफा गर्ने लगायतका कामले पानी फोहोर हुन्छ ।
ती फोहोर पानी मध्ये पनि कुनै फोहोर पानी वातावरणमा सीधै विसर्जन गर्न हुने खालका हुन्छन् भने कुनै एकदमै हानिकारक फोहोर पानी हुन्छ । दिसापिसाब मिसाएको पानी स्वास्थ्यका लागि अति हानिकारक हुने भएकाले यसलाई कालो पानी अर्थात व्ल्याक वाटर भनिन्छ ।
खानेपानी तथा ढल निकाश विभाग, वातावरणीय सरसफाई शाखाका प्रमुख प्रेम कृष्ण श्रेष्ठ भन्नुहुन्छ ‘ढल मिसिएको पानी एकदमै हानिकारक हुन्छ, यसलाई प्रशोधन नगरी वातावरणमा सीधै पठाउन मिल्दै मिल्दैन, यसलाई ब्ल्याक वाटर अर्थात कालो पानी भन्ने गरिन्छ ।’
कालो पानी अर्थात दिसापिसाव वा ढल मिसिएको पानी मानव स्वास्थ्यका लागि हानिकारक भएकै कारण वातावरणमा सीधै पठाउन मिल्दैन । त्यस्तो पानी प्रशोधन गरेर मात्र बग्न दिनुपर्छ । प्रशोधन भनेको प्राकृतिक पानीमा मिसिएका हानिकारक पदार्थलाई छुटाएर प्रकृतिकै जस्तो सफा बनाएर बगाउनु हो ।
हरेक बर्ष मार्च २२ तारीखमा मनाइदै आएको विश्व पानी दिवस र र मार्च २३ मा मनाइने विश्व मौसम दिवसको अवसर पानी नेपालमा आजदेखि जल तथा मौसम सप्ताह शुरु भएको छ । जल तथा मौसम सप्ताहको यस बर्षको नारा ‘फोहोर पानीको पुनःप्रयोग’ भन्ने तय गरिएको छ ।
फोहोर पानीको पुनःप्रयोग कसरी गर्न सकिन्छ त ? खानेपानी तथा ढल निकाश विभाग, वातावरणीय सरसफाई शाखाका प्रमुख प्रेम कृष्ण श्रेष्ठ भन्नुहुन्छ ‘फोहोर पानीको पुनः प्रयोग गर्ने अनेकौं तरिकाहरु छन् जस्तो भान्छाबाट निस्केको फोहोर पानीलाई करेसाबारीमा सिंचाईको रुपमा प्रयोग गर्न सकिन्छ, ढल मिसिएको पानीलाईइ पनि प्रशोधन गरेपछि खोला वा नदीमा बगाउनुको सट्टा चर्पीको सफाइ, सिंचाइ लगायत काममा प्रयोग गर्न सकिन्छ ।’
पानीका स्रोतहरु सुक्दै जान थालेका छन् । पानीको अभावमा वस्ती छाड्नुपरेका खबरहरु दिनहुँजसो सुनिरहन्छौं । तर फोहोरपानीलाई पुनः प्रयोग गर्ने हो भने त्यसको समस्या केही हदसम्म समाधान हुन सक्छ । गाउँघरमा भान्छाबाट निस्कने फोहोर पानीलाई प्लाष्टिक पोखरीमा जम्मा गरेर सिंचाईका लागि प्रयोग गर्न सकिन्छ ।
यस्तै शहरबजारमा पनि घर र उद्योग तथा कलकारखानाबाट उत्पादित फोहोर पानीलाई प्रशोधन गरेर मात्र नदीमा पठाउने वा प्रशोधन गरेको पानीलाई चर्पीको सफाईको लागि प्रयोग गर्न सकिन्छ । यसो गरेमा वातावरण पनि स्वच्छ हुन्छ भने प्रशोधित पानीलाई उपयोग गरी पानीको खपतलाई पनि काम गर्न सकिन्छ । यसका लागि ठूला शहरका लागि केन्द्रीकृत ढल प्रशोधन इकाईहरु र चार पाँच सय घरधुरी सम्मका लागि साना ढल प्रशोधन केन्द्रहरु सन्चालनमा ल्याउन सकिने बताउनुहुन्छ, खानेपानी तथा ढल निकाश विभाग, वातावरणीय सरसफाई शाखाका प्रमुख प्रेम कृष्ण श्रेष्ठ ।
मानवीय स्वास्थ्य र वातावरणीय सरसफाईमा हानी पुग्ने गरी कसैले पनि फोहोरमैला विसर्जन गर्नुहुदैन । नदीमा ढल मिसाउनु र फोहोर फ्याँक्नु सामाजिक अपराध हो । त्यसैले घरायसी, समुदाय र ठूला कलकारखानाबाट उत्पादित फोहोरपानीलाई प्रशोधन गरेर मात्र फ्याँक्न जरुरी छ ।