काठमाडौं, दिक्पाल गिरी : काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रका बासिन्दाको अवरोधले काठमाडौको फोहोर सडकमै थुप्रिन थालेका छन् ।
काठमाडौ महानगरपालिका देखि ओखरपौवाको सिसडोल ल्याण्डफिल सम्मको सडक स्तरोन्नति गर्नुपर्ने, एक घर एक रोजगारीको व्यवस्था हुनुपर्ने, फोहोर फाल्नु अघि औषधि छर्कनुपर्ने, स्थानीयबासिन्दा सँग गरिएको सम्झौता कार्यान्वयन हुनुपर्ने, फोहोरका कारण उत्पन्न हुने रोगको उपचारका लागि तारकेश्वर नगरपालिका ३ मा रहेको तीनपिप्ले स्वास्थ्य चौकीलाई १० शैयाको अस्पतालको रुपमा विकास गर्नुपर्ने, बाटो निर्माणका क्रममा विग्रे भत्केका बाटा, कुलो, खानेपानी, सांस्कृतिक सम्पदाहरु तत्काल पूर्णरुपमा बनाउनुपर्ने लगायत माग राखी फोहोर बोकेको गाडी चल्न नदिएपछि काठमाडौको फोहोर सडकमै थुप्रिएको हो ।
आफूहरुको माग पूरा नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने आन्दोलनको नेतृत्व गरिरहेका तारकेश्वर नगरपालिका ३ का बासुदेव घिमिरेले बताउनुभयो । स्थानीय बासिन्दाको अवरोधका कारण गत बिहीबारदेखि काठमाडौं लगायत १८ वटा स्थानीय तहको फोहोर सिसडोलमा पु-याउन सकेको छैन ।
एक अध्ययन अनुसार काठमाडौ उपत्यकामा दैनिक १५ सय मेट्रिक टन फोहोर उत्पादन हुदै आएको छ । ती सबै फोहोर सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन गरिदै आएको छ ।
शहर दुर्गन्धित
फोहोर थुप्रिदा शहरको मुख्य चोक तथा गल्लीमा दुर्गन्ध फैलिएको छ । फोहोर थुप्रिएका ठाउँमा नाक नछोपी हिड्न मुश्किल हुन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रको फोहोर टेकु ट्रान्सफर स्टेसनमा थुप्रिन थालेको छ भने ललितपुर महानगरपालिकाको फोहोर महानगरपालिकाकै कार्यालय अगाडि थुपारिएको छ ।
यस्तै मुख्य बजार क्षेत्र लगनखेल, बालकुमारी, मंगलबजार लगायतका बजार क्षेत्र पनि फोहोरले ढाक्न थालेको छ ।
फोहोरको अल्पकालीन व्यवस्थापन गर्न ललितपुर महानगरको आग्रह
सिसडोल ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा अवरोध भएपछि ललितपुर महानगरपालिकाले केही समयका लागि फोहोरमैलाको उचित व्यवस्थापन गर्न सम्भव नभएको भन्दै अस्थायी रुपमा आफ्नो प्रयासबाटै फोहोर व्यवस्थापन गर्न आग्रह गरेको छ ।
महानगरपालिकाले आइतबार एक विज्ञप्ती जारी गर्दै आफ्नै प्रयासबाट घर, अफिस, कम्पाउण्ड भित्रै अल्पकालीन व्यवस्थापन गरी सहयोग गरिदिन आग्रह गरेको हो । विज्ञप्तीमा भनिएको छ ‘फोहोरमैला व्यवस्थापनको शीलशीलामा हाल व्यवस्थापन गरिएको सिसडोल ल्याण्डफिल साइटमा प्राविधिक समस्या उत्पन्न भई फोहोरमैला उठाउन नसकिएको कारण केही समस्या उत्पन्न भएको छ, सो को दीर्घकालीन व्यवस्थापन तथा वैकल्पिक व्यवस्थाका लागि समेत महानगरपालिकाले आवश्यक पहल गरिरहेकै छ।’