काठमाडौ, प्रसन्न तामाङ : काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन हुदै आएको नुवाकोटको सिसडोल सेनेटरी ल्याण्डफिल साइट भरिने अवस्थामा पुगेको छ । चौथो चरणमा झण्डै साँढे सात लाख टन फोहोर विसर्जन गर्न सक्ने गरी विस्तार गरिएको ल्याण्डफिल साइट भरिनै लागेको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी दिनुभयो ।
‘सिसडोलमा हामीले झण्डै ४ सय ५० रोपनी जग्गा लिएका हौं । त्यसमा पहिलो दोस्रो, तेस्रो तथा चौथो पटक विस्तार ग-यौं, यो नै अन्तिम पटक हो, अब सिसडोलमा यो भन्दा विस्तार गर्ने ठाउँ छैन’ ज्ञवालीले भन्नुभयो ।
अन्तिम पटक विस्तार गरिएको ल्याण्डफिल साइटको आयु लगभग सकिने अवस्थामा पुगेकाले काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनका लागि चाँडै वैकल्पिक व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । ‘अब यसले अधिकतम धान्ने भनेको डेढ बर्ष मात्र हो ।
दीर्घकालीन फोहोर व्यवस्थापनका लागि धादिङ र नुवाकोटको सीमानामा पर्ने बञ्चरे डाँडा हो, तर यो बन्नकै लागि कम्तीमा तीन बर्ष लाग्छ’ कार्यकारी निर्देशक ज्ञवाली भन्नुहुन्छ ‘बञ्चरे डाँडामा सेनेटरी ल्याण्डफिल साइट नबन्दासम्म अर्को विकल्प सोच्नैपर्छ, यसका लागि डेढ दुई बर्षको लागि एउटा स्याने खोल्सी भन्ने ठाउँ हुन सक्छ ।’
दश बर्ष हुँदा पनि बञ्चरेडाँडा ल्याण्डफिल साइट बन्न सकेन
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय स्वरुप बञ्चरेडाँडा ल्याण्डफिल साइट सन् २००७ मा शुरू गरी सन् २००९ मै सम्पन्न गर्ने गरी ‘डिजाइन’ गरिएको थियो । तर ल्याण्डफिल साइटको पूर्वाधारको विकासका लागि बजेट अभाव कारण देखाउँदै अहिलेसम्म आधा काम पनि सम्पन्न हुन सकेको छैन ।
लक्ष्य अवधिमै ल्याण्डफिल निर्माणको काम सम्पन्न नहुँदा लागत बढ्दै गएको छ । अहिलेसम्म कोल्पु खोला डाइभर्सन तथा ल्याण्डफिल साइटसम्म पुग्ने पुहँच मार्ग लगायत निर्माण भएपनि त्यसको पनि पुनः निर्माण गर्नुपर्ने अवस्था छ ।
आयोजनाको डिजाइन सन २००७ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बनाएको हो । त्यसबेला आयोजनाको लागत १ अर्ब ६३ करोड रुपैयाँको अनुमान गरिएको थियो । ल्याण्डफिल साइटको क्षेत्रफल १ हजार ७ सय रोपनी छ ।
कार्यकारी निर्देशक ज्ञवालीले बञ्चरेडाँडा ल्याण्डफिल साइटको निर्माण भएपछि अबको २० बर्षसम्म काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताउनुभयो । फोहोरमैलाको विषयमा गरिएको एक अध्ययनले काठमाडौमा उत्पादित फोहोरको ६० देखि ७० प्रतिशत हिस्सा जैविक फोहोर अर्थात कुहिने खालका हुन्छन् ।
काठमाडौमा दैनिक १५ सय टन फोहोर उत्पादन हुन्छ ती मध्ये ६० प्रतिशत अर्थात झण्डै ९०० टन फोहोर कुहिने फोहोर हुन्छन् ।