काठमाडौं : काठमाडौं महानगरपालिकाले सिसडोल ल्यान्डफिल साइटप्रभावित धादिङको धुनीबेंसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकालाई फोहोर फालेबापत विकास रकम भन्दै एक/एक करोड रुपैयाँ हस्तान्तरण गरिरहँदा शुक्रबार स्थानीय बासिन्दाले सिसडोलमा फोहोर फाल्न रोक लगाएका छन् ।
सामान्यतः दिउँसो दुई बजेभित्र फोहोर फालिसक्ने भन्ने सहमतिविपरीत महानगरपालिकाले २४ सै घन्टाजस्तो फोहोर लगेर दुर्गन्धित बनाएको भन्दै सडकआसपासका बासिन्दाले बिहान ६ देखि मध्याह्न १२ बजेसम्म फोहोर बोकेका ट्रिपरलाई साइटतर्फ जान नदिएका हुन् ।
ककनी गाउँपालिकाको वडा नम्बर ३ का अध्यक्ष घननाथ बजगाईंले फोहोर व्यवस्थापनमा महानगरपालिकाको चरम लापर्वाही भएको बताए । ‘गाउँमा कोलाहल छ, बाटोभरि फोहोरका गाडी छन् तर यहाँ करोड/करोड बाँडेको नाटक मञ्चन भइरहेको छ’, उनले भने, ‘मुख्य सचिवसँग आठ, नौ मन्त्रालयका सचिव बसेर गरेको निर्णय यहाँ कार्यान्वयन हुँदैन । पाँच वर्षअघि तीनपिप्ले-सिसडोल सडक पिच गर्ने भनेर ठेक्का लगाइयो तर तीन वर्षमा सक्ने सडक अझै बनेको छैन ।’ करिब ८ किलोमिटर उक्त सडक बनाउने जिम्मा कालिका कन्स्ट्रक्सनले पाएको थियो ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार धुनीबेंसीका प्रमुख बालकृष्ण आचार्य र ककनीका अध्यक्ष मानबहादुर लामालाई आर्थिक वर्ष ०७३/७४ को स्थानीय विकासका लागि विनियोजित रकम एक, एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उनले साइट प्रभावित ९ सय मिटरभित्रका बासिन्दा पाँच जनालाई पनि २८ हजारका दरले चेक प्रदान गरेका थिए । वडाध्यक्ष बजगार्इंले चेक लिए पनि फोहोर नझर्ने चेतावनी दिएको खबर आजको अन्नपूर्ण पोष्टले खबर छापेको छ । ।
ककनीका अध्यक्ष लामाले साइट प्रभावितलाई रकमभन्दा पनि राजधानीबाट लगिने फोहोर व्यवस्थित सही ढंगबाट गरिदिए हुने नत्र महामारी फैलिने सुझाव दिए । खुकुरीको चोट अचानोबाहेकलाई थाहा नहुने स्मरण गराउँदै उनले भने, ‘महामारी फैलियो भने एक करोडले पुग्दैन, स्वास्थ्यको क्षतिपूर्ति रकमले धान्दैन । साइटमा चरम लापर्वाही छ ।’ उनले महानगरपालिकाले स्थानीय बासिन्दासँग धेरै सम्झौता गरे पनि कार्यान्वयन कम गर्ने र ३ वर्षभित्र बञ्चरेडाँडा बनाइसक्ने गरी सिसडोलमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि १३ वर्षसम्म काम नभएको गुनासो गरे ।
धुनीबेंसीका प्रमुख आचार्यले राजधानीबाट सिसडोल लैजाने फोहोर काठमाडौंको मात्र नभई उपत्यकाका अन्य नगरपालिकाको पनि भएकाले सबैबाट सहयोगलगायत प्रतिबद्धता नआउन्जेल पटक-पटक फोहोरमा अवरोध भइरहने बताए ।
धुनीबेंसीका १, ३ र ४ वडामा लिचेडको खोलो बगिरहेको जानकारी दिँदै उनले भने, ‘काठमाडौंलाई सभ्य र सुन्दर अनि सिसडोल आसपासलाई दूषित र कुरुप बनाएर राख्न मिल्दैन, अब स्वायत्त र सरकार भइसकेको अवस्थामा एउटा नगरपालिकाको फोहोर अर्कोमा थुपार्न पनि मिल्दैन ।
एक, दुई करोड फाल्दैमा फोहोर फाल्न ढुक्क हुन्छ भन्ने नसोचियोस् ।’ महानगरपालिकाका मेयर शाक्यले यसअघिका वार्तामा गरिएका सम्झौता आफूले अध्ययन गरिरहेको र सडक ठेक्का दिएको पनि आफूले जानकारी लिइरहेको बताए ।
उनले भने, ‘यति रकमले सिसडोल आसपासका बासिन्दाको स्वास्थ्यको क्षतिपूर्ति सम्भव छैन, महानगरपालिका बाध्यतामा छ, सिसडोलको विकल्पमा जानै पर्छ ।’ हिजोसम्म सिसडोलको विकल्प बञ्चरेडाँडा बनाउन सरकार लागिरहेको र निर्देशन अनुरूप महानगरले फोहोर फालिरहेको उनको भनाइ छ ।
‘काठमाडौंको फोहोर व्यवस्थापन र भरिएको सिसडोल मन्त्रीदेखि गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्मलाई अवगत गराइसकेका छौं, उपत्यकाका सबै नगरपालिका मिलेर पटक-पटक नघच्घच्याए बञ्चरेडाँडा बन्ने छाँटकाँट छैन’, महानगरपालिकाले करोड रुपैयाँ दिएर मलमपट्टी लगाउन नखोजेको प्रस्ट पार्दै उनले थपे ।
महानगरपालिकाका इन्जिनियर रवीन्द्र राईले तीनपिप्लेदेखि सिसडोलको सडक दुई किलोमिटर पिच भएको जानकारी दिए । महानगरपालिकाको वातावरण विभाग प्रमुख रवीन्द्रमान श्रेष्ठले रोकिएको फोहोरका विषयमा शनिबार स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग वार्ता गर्ने जानकारी दिए ।