काठमाडौ, डा. मुकेश कुमार साह देशका विभिन्न सहर विकसित, सफा र सुन्दर बन्दै गएका छन् । नगरहरूमा बढ्दो जनसंख्या, जनचेतनामा विकास, उपचारका आधुनिक प्रविधिको खोजीका कारणले ती क्षेत्रमा स्वास्थ्य संस्थाहरूको संख्या बढ्दो छ । निजी लगानीमा सञ्चालित स्वास्थ्य संस्था धेरै बढेका छन् । बढ्दो जनसंख्याको माग बमोजिम नै सहरहरूमा अस्पताल र क्लिनिकको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । सहरभित्र फार्मेसी तथा डेन्टल क्लिनिक एवं सानातिना प्रयोगशालासमेत बढिरहेका छन् ।
अस्पतालको हरेक बेडबाट दैनिक ८५० ग्राम फोहोर निस्कने एक तथ्याङ्कले देखाएको छ । यसरी निस्कने फोहोरमा संक्रमित फोहोरको मात्रा पनि उल्लेखनीय हुने भएकाले फोहोरको वर्गीकरण गर्नुपर्छ । वर्गीकृत फोहोरलाई संक्रमणरहित बनाई विसर्जन गर्न आधुनिक तरिकाबाट मात्र सम्भव देखिन्छ । पुराना प्रविधिहरू वातावरण प्रतिकूल र मानवीय जीवन जोखिममा पार्ने खालका भएकोले नयाँ प्रविधिमार्फत फोहोर व्यवस्थापन जरुरी देखिएको हो ।
सहर भित्रका अस्पताल, क्लिनिक, फार्मेसी तथा डेन्टल क्लिनिक एवं सानातिना प्रयोगशाला समेतबाट रोग सार्न सक्ने संक्रमितदेखि सामान्य गल्न सक्ने फोहोर दैनिक निक्लिन्छन् । अस्पतालजन्य फोहोरको विसर्जन निकै चुनौतीपूर्ण छ ।
यस्ता फोहोरलाई आधुनिक प्रविधिबाटै व्यवस्थापन गर्न जरुरी छ । विगतमा गरिने फोहोर व्यवस्थापन प्रक्रिया प्रभावकारी थिएन, संक्रमण फैलिने जोखिम पनि उत्तिकै थियो । वर्गीकरण नगरी घर–घर वा बजारबाट फोहोर संकलन गरी डम्पिङ साइटमा विस्थापन गर्ने निकै प्रचलित फोहोर व्यवस्थापनको उपाय हो ।
खुल्ला स्थानमा गरिने यस्तो तरिका निकै जोखिमपूर्ण हुन्छ । अर्को तरिका जल्ने योग्य फोहोरहरूलाई एकत्रित गरी जलाउने हो, जुन विधि केही अस्पतालमा प्रयोगमा ल्याइएको छ । संक्रमित फोहोरलाई निर्मलीकरण गरी पुन: प्रयोगमा ल्याउने त्यसपछि विसर्जन गर्ने विधि सीमित अस्पतालमा छ भने गल्न सक्ने फोहोरहरूलाई एकत्रित गरी गाड्ने तरिका केही अस्पतालजन्य फोहोर विसर्जनमा प्रयोग गरेको समेत पाइएको छ ।
अस्पतालबाट निस्कने फोहोरहरू व्यवस्थापन गर्ने तरिका धेरै भए पनि वर्गीकरकण गर्दै वर्गीकृत फोहोरहरूको फरक–फरक तरिकाबाट व्यवस्थापन गर्नु जरुरी छ । यी मध्ये आधुनिक प्रविधिमा अटोक्लेभको ठूला प्लान्ट जडान र एकीकृत रूपमा फोहोरको व्यवस्थापन नै उचित देखिन्छ । संक्रमणजन्य फोहोरको व्यवस्थापन तथा विसर्जनका लागि बायलोजिकल प्रोसेडियोर वातावरणीय दृष्टिले समेत उपयुक्त भए पनि धेरै फोहोर व्यवस्थापनमा प्रभावकारी हुन सक्दैन । पछिल्ला दिनहरूमा विश्वभर अटोक्लेभको प्रयोगबाटै अस्पतालजन्य फोहोरको व्यवस्थापन गर्ने गरिन्छ ।
हुन त फोहोर व्यवस्थापन आफैमा निकै चुनौतीपूर्ण छ । फोहोर व्यवस्थापनको आधुनिक पद्धति भित्र्याउन सहज पनि छैन र त्यसको सञ्चालन पनि कठिनाइपूर्ण हुने देखिन्छ । हालसम्म नगरहरूमा मात्र फोहोर व्यवस्थापनको सञ्जाल तयार गरिएको पाइन्छ । कतै नगरपालिका आफै त कतै प्राइभेट पार्टनरसिपको अवधारणामा स्थापित संयन्त्र त कतै ठेक्कामा लिएका कम्पनीहरूमार्फत ।
ग्रामीण इलाकामा भने यस्तो प्रविधिको विकास भइसकेको छैन । फोहोर व्यवस्थापन पद्धति वातावरणमैत्री नरहेको धेरै नगरवासीको गुनासो छ । संक्रमित फोहोरलाई संक्रमणरहित नबनाई खुल्ला रूपमा गरिने फोहोर व्यवस्थापनले वातावरणमा प्रतिकूल असर पारिरहेको हुन्छ ।
प्रचलनमा रहेको फोहोर व्यवस्थापन विधि प्रभावकारी नभएको र वातावरण प्रदूषणसमेत भएको विषयलाई आत्मसात गरी बिरामी तथा अस्पतालमा रहेका रोगजन्य फोहोरको उचित वर्गीकरण तथा त्यस फोहोरको उचित विसर्जन गर्नु अस्पताल, सम्बन्धित नगरपालिका, स्थानीय बासिन्दा सबैले आ–आफ्नो जिम्मेवारी सम्झनु जरुरी छ ।
प्राइभेट पब्लिक पार्टनरसिपको अवधारणामा हरेक सहर नजिकै आधुनिक प्रविधि सहितको फोहोर व्यवस्थापन तथा अस्पतालजन्य संक्रमित फोहोर व्यवस्थापनका लागि अटोक्लेभ सहितको निर्मलीकरण र विसर्जन गर्ने प्लान्ट स्थापना गर्नु अत्यन्त आवश्यक छ । यस अवधारणाबाट अगाडि बढे कम लगानीमा फोहोर व्यवस्थापन हुनसक्छ ।
निम्स नेसनल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मुकेश कुमार साहको लेखलाई कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।