फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिताका विषयमा छलफल

काठमाडौ : काठमाडौं महानगरले फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रको सहभागिता र आउन सक्ने चुनौतीका विषयमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र महानगरपालिकाका विभाग प्रमुखहरुसँग छलफल गरेको छ ।

महानगरप्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई प्रवेश गराउँदा आउने विवाद र विवाद र समस्या अहिले नै पहिचान गरेर अघि बढ्दा राम्रो हुने बताउनुभयो । उहाँले ल्याण्डफिल साइटका लागि जग्गाको उपलब्धता, पूर्वाधार निर्माण, सडक निर्माण, जनशक्ति व्यवस्थापन, शुल्क निर्धारण, सरसफाइको प्रत्याभूति, अन्य निजी क्षेत्रको सहभागिता तथा नागरिक लाभका विषयमा प्रष्ट नभई काम गर्दा महानगरलाई समस्या आउने भएकाले आफू त्यसमा सचेत रहेको बताउनुभयो ।

छलफलमा काठमाडौ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्कीले फोहोरमैला व्यवस्थापनमा काम गर्न धेरैले चासो देखाए पनि समस्या पर्दा महानगरपालिकालाई मात्र औंला तेस्र्याउने भएकाले सम्भावित समस्याको समाधानको उपाय खोजी गर्दै फोहोर व्यवस्थापनका लागि अघि बढ्नुपर्ने बताउनुभयो ।

“लगानी बोर्डले अघि बढाएको प्रस्ताव टुङ्ग्याउन हामीलाई पनि हतार छ । जति ढिलो भयो हामीले त्यति नै धेरै जवाफ दिनुपर्छ ।” महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले भन्नुभयो ।

लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने महानगरको स्वीकृति पछि निजी क्षेत्रसँग सम्झौता गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

सन् २०१८ को अप्रिल महिनाबाट प्रति घरधुरी २१९ रुपैयाँ शुल्क लिने गरी काठमाडौं उपत्यका एकीकृत फोहोरमैला व्यवस्थापन आयोजनामा निजी क्षेत्रसँगको साझेदारिताको विषय निष्कर्ष नजिक पुगेको छ ।

निजी क्षेत्रसँग सहकार्य गर्न थालेपछि बञ्चरे डाँडालाई ल्याण्डफिल साइट, फोहोर प्रशोधन केन्द्र, उत्पादन र रिसाइकल साइटका रुपमा विकास गर्ने र टेकुलाई ट्रान्सफर स्टेशनका रुपमा प्रयोग गर्ने भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार