पूर्ण सरसफाइ अभियान सञ्चालन नहुँदा शौचालय प्रयोगबिहीन

उदयपुर : झण्डै चार बर्ष अघि अर्थात २०७२ माघ १३ गते उदयपुरलाई भव्य कार्यक्रमका बीच खुला दिसामुक्त भएको घोषणा गरियो । खुला दिसामुक्त घोषणा भएको केही समयसम्म स्थानीयले शौचालय प्रयोग पनि गरे । शौचालय प्रयोग भए नभएको बारे अनुगमन गर्न डिवाससीसी एवं एमवाससीसीका पदाधिकारीहरु पनि बेला बेला गाउँ घुम्थे ।

तर पछिल्ला समय खुला दिसामुक्त घोषणा पश्चात कुनै कार्यक्रम अघि नबढ्दा त्यसबेलै प्रयोगमा आएका शौचालयहरु कतिपय ठाउँमा प्रयोगबिहीन भएका छन् । सर्वसाधारणले शौचालय छाडेर खोला, खोल्सी र जंगलतिर नै शौच गर्न जाने पुरानै परम्परा फेरि दोहोरिन थालेका छन् ।

खुला दिसामुक्त घोषणा भए पनि महाभारत क्षेत्रका डेढ दर्जन बढी बस्तीमा यस्तै समस्या छ । जिल्लाका सबैका घरमा शौचालय पनि छन् । तर ती सबै प्रयोगमा आएका छैनन् ।

शौचालय भएर पनि प्रयोगमा नआउनुमा थुप्रै कारण रहेको गाउँका अगुवाहरु बताउँछन् । पञ्चावती माध्यमिक विद्यालयका शिक्षक पवननारायण झा खुला दिसामुक्त घोषणा भएपछि सरसफाइ सम्बन्धी कुनै पनि कार्यक्रम सञ्चालन नहुनु, शौचालय पुरानो र मक्किदै जानु, सेफ्टी ट्याङ्की भरिदै जानु र पानीको अभाव हुनु लगायत कारणले शौचालय प्रयोगबिहीन भएको ठान्नुहुन्छ ।

‘शौचालय त बनाइयो तर अहिले प्रयोग गरिएको छैन’ चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरकी दुख्नीदेवी सदाले भन्नुभयो । ‘सरकारी सहयोग पाएपछि शौचालय बनाइयो, अहिले दिसा गर्ने ठाउँ फुटेकाले प्रयोग गर्ने छोडेका छौं, बनाउ भने पैसा छैन, बिग्रिएपछि बनाउने पैसा नदिएकाले प्रयोग गर्न छाडेका हौं ।’

८ स्थानीय तह रहेको उदयपुरमा ५७ वडा छन् । तर धेरै वडामा अहिले पनि पिउने पानी नहुँदा समस्या भोग्नुपरेको सर्वसाधारण बताउँछन् । पिउने पानी नै नभएको अवस्थामा शौचालय प्रयोगका लागि पानी व्यवस्था गर्न गाह्रो भएको उनीहरूको भनाइ छ ।

 

विद्यालयको अवस्था पनि उस्तै

खुला दिसामुक्त क्षेत्रका विद्यालयको अवस्था पनि कुनै फरक छैन । चुरे क्षेत्रका विद्यालयमा पानीको अभाव छ । खुला दिसामुक्त क्षेत्र घोषणाका बेला बनाएका शौचालय दीर्घकालीन रूपमा प्रयोग सकेका छैनन् । शौचालयमा पानीको व्यवस्था गर्न नसक्दा शौचालय प्रयोग गर्न नै समस्या भएको विद्यालयका शिक्षकहरूको भनाइ छ ।

कतिपय विद्यालयमा पिउने पानीको समेत समस्या छ । शिक्षक विद्यार्थीलाई पिउने पानी नै नहुने विद्यालयले शौचालयमा पानीको व्यवस्था गर्न कठिनाइ भएको पञ्चावती माध्यमिक विद्यालयका शिक्षक पवननारायण झाले बताउनुभयो । ‘पिउने पानीका लागि दैनिक डेढ घण्टा खर्चेर एक ग्यालिन पानी ल्याउनु पर्ने हुन्छ । शौचालय प्रयोगका लागि कहाँबाट ल्याउने ?’ उहाँले भन्नुभयो ।

महाभारत क्षेत्रका अधिकांश विद्यालयले कार्यालय सहयोगीले ओसारेको पानीको भरमा तिर्खा मेटाइरहेका छन् । विद्यालयको कामको अतिरिक्त सहयोगीले पानी बोकेर विद्यालयका शिक्षक विद्यार्थीको तिर्खा मेटाइरहेको उदयपुरगढी गाउँपालिकाका पदम खत्रीले बताउनुभयो ‘पिउने पानी नै समस्या भएको ठाउँमा शौचालयमा कसरी पानी हुन्छ ?’ उहाँले भन्नुभयो । पिउने पानीको व्यवस्था भए पनि शौच गर्न पानी नहुँदा शिक्षक विद्यार्थी बाध्यताले जंगल धाउनुपरेको विद्यार्थी तथा शिक्षकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार