सांसद र खानेपानी विभागको टोलीद्वारा तिमाल खानेपानी आयोजनाको अनुगमन (फोटो कथा)

 

काभ्रे : काभ्रेको तिमाल बृहत (सुख्खाक्षेत्र) पम्पिङ खानेपानी आयोजनाको अनुगमन गरिएको छ । संघीय सांसद गंगाबहादुर दोङ (बमध्वज), तेमाल गाउँपालिकाका अध्यक्ष एवं संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख तथा उपप्रमुख सम्मिलित टोलीले खानेपानीको सबै संरचनाको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा गरिएको अन्तरक्रियामा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख नन्दलाल बन्जाडेले खानेपानीको बिस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले खानेपानी आयोजनाको हालसम्मको आर्थिक एवं भौतिक प्रगतिका बिषयमा समेत जानकारी गराउनुभएको थियो ।

दुई प्याकेजमा विभाजित तिमाल बृहत खानेपानीको आयोजनाको पहिलो प्याकेजको काम ६१.२० प्रतिशत र दोस्रो प्याकेजको काम २८.६१ प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख बन्जाडेले जानकारी गराउनुभयो ।

खानेपानीको अनुगमन पछि सांसद गंगाबहादुर दोङ (बलध्वज) ले ठेकेदारको काम सन्तोषजनक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले ठेकेदार कम्पनीले दक्षता अभिबृद्धि गर्नुपर्ने र विनियोजित बजेटले मात्र नभ्याउने अवस्था आएमा थप बजेट माग गर्न आफ्नो तर्फबाट समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै ठेकेदार कम्पनी  M/S Kalika -C.A.B.JV का प्रमुख वसन्त चन्दले आगामी साउन महिनाभित्र आयोजनाका लागि आवश्यकीय सबै पाइपको ढुवानी भईसक्ने र तोकिएकै समयमा खानेपानी उपलब्ध गराउने गरी काम भईरहेको दाबी गर्नुभयो । उहाँले विविध कारणले पहिलो प्याकेजको म्याद थप गर्नुपर्ने अवस्था आएको दर्शाउदै आगामी बैशाख सम्म म्याद थप गरिदिन पहल भएपनि माघ भित्रै पहिलो प्याकेजको काम सम्पन्न गरी सुनकोशीको पानी डाँडामा चढाईसक्ने दाबी गर्नुभयो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष संग्राम सिङ लामाले भने उपभोक्तालाई तोकिएकै समयमा खानेपानी उपलब्ध गराउन आफू मरिमेटेर लागेको बताउनुभयो । उहाँले ठेकेदार कम्पनी, आयोजना कार्यालय एवं उपभोक्ताहरु बीच समन्वयको काम गर्ने काममा आफू दिनरात खटिरहेको बताउनुभयो ।

अनुगमन टोलीमा सांसद बमध्वज सँगै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख नन्दलाल बन्जाडे, उपप्रमुख मोहनलाल जैसी, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका महासचिव इन्द्र इन्द्र तामाङ, तेमाल वृहत खानेपानी ९सुख्खा क्षेत्र० तथा सरसफाइ आयोजनाका अध्यक्ष संग्रामजीत लामा, कालिका(वसन्तचन्द कन्स्ट्रक्सनका प्रमुख वसन्त चन्द लगायतको सहभागिता थियो ।

तिमाल बृहत (सुख्खाक्षेत्र) पम्पिङ खानेपानी आयोजना सम्पन्न भएपछि काभ्रेको तिमाल गाउँपालिकाको ९ वटै वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको वडा नं. ७ को केही भागका गरी ९ हजार भन्दा बढी घरपरिवार लाभान्वित हुनेछन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र ठेकेदार कम्पनी बीच पहिलो प्याकेजका लागि २०७३ बैशाख २६ गते र दोस्रो प्याकेजका लागि २०७५ असार २२ गते भएको थियो । सम्झौता अनुसार आगामी २०७७ साल मंसिर २१ गतेभित्र खानेपानी आयोजना सम्पन्न गरी घरघरमा वितरण गर्नुपर्नेछ ।

खानेपानी आयोजनाका थप फोटाहरु :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार