इन्जिनियर दिवसमा इन्जिनियरिङ क्षेत्रमा भित्रिएको नयाँ प्रविधिबारे जानकारी

 

हेटौंडा : ५७ औं इन्जिनियर दिवसको अवसरमा इन्जिनियरिङ क्षेत्रमा भित्रिएको नवीनतम प्रविधि र अभ्यासबारे इन्जिनियरहरुलाई जानकारी गराईएको छ । नेपाल इन्जिनियर्स एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिले इन्जिनियर दिवसको अवसर पारी ‘इन्जिनियरिङ इनोभेसन्स एण्ड प्राक्टिसेस’ नामक आधा दिनको गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीको उदघाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले गर्नुभयो । उहाँले इन्जिनियर समृद्धिको मेरुदण्ड भएकाले सुखी नेपाली समृद्ध नेपालको नारा इञ्जिनियरहरुको सक्रियता बिना असम्भव हुने बताउनुभयो । उहाँले डिजाइनदेखि नै भ्रष्टाचार सुरु हुने गरेको इन्जिनियरहरुले आरोप सहनुपरे पनि इन्जिनियर बिना राजनीतिकर्मीले केही गर्छु भनेर पनि नसक्ने बताउनुभयो ।

यस्तै निजगढ बिमानस्थलका आयोजना प्रमुख ओम शर्माले इन्जिनियरहरुलाई डिजाइनको क्रममा गैर इन्जिनियरहरुले यो गर र त्यो गर भन्दै आग्रह गर्ने र प्रभावमा पार्ने काम भईरहेकाले स्वतन्त्र तरिकाले डिजाइन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
इन्जिनियरिङ क्षेत्रमा राजनीति हाबी हुँदा अद्योगति तिर लागेको देशहरुको उदाहरण दिदै उहाँले इन्जिनियरिङ क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न नसके हाम्रो देश पनि अद्योगतिमा जाने निश्चित रहेको बताउनुभयो ।

 

चीनका महत्वपूर्ण मन्त्रालयहरु इन्जिनियर फिल्डबाट आएका मन्त्रीहरुले अगुवाई गरेकाले समृद्ध सम्भव भएको उदाहरण दिदै उहाँले नेपालमा विज्ञान र प्रविधिको क्षेत्रलाई राष्ट्रले प्राथमिकतामा नराखेको आरोप लगाउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष एवं नेपाल इन्जिनियर्स एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिका सभापति नन्दलाल बन्जाडेले इन्जिनियर्स एशोसिएसनकै इतिहासमा पहिलो पटक ईन्जिनियरहरुको लागि १० लाखको दुर्घटना बीमा गरिएको बताउनुभयो । उहाँले उक्त बीमा असार मसान्तसम्ममा आजीवन सदस्यता लिएका एवं नवीकरण गरेका इन्जिनियरहरुले मात्र प्राप्त गर्ने जानकारी गराउनुभयो ।

गोष्ठीमा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका क्वालिटी कन्ट्रोल इन्जिनियर जगदिश्वरमान श्रेष्ठले टनेल बोरिङ मेसिनको सिकाई तथा नेपालमा टनेल बोरिङ मेसिनको सम्भाव्यताका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

नेपाल टेलिकमका बरिष्ठ इन्जिनियर दिलिप कुमार बर्माले भने फोर जी एलटीईका बारेमा जानकारी गराउनुभएको थियो ।
विभिन्न प्राविधिक सत्रहरुमा बाँडिएको कार्यक्रमको बीच बीचमा कार्यक्रम प्रायोजक हिलटेक र एसियन पेन्टस्का प्रबद्र्धनात्मक सामग्री समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा हेटौंडा सिमेन्टका सिइओ प्रेम शंकर सिं, राष्ट्रिय गौरवको आयोजना, निजगढ विमानस्थलका आयोजनाका प्रमुख ओम शर्मा, खानेपानी डिभिजन प्रमुख बाल मुकुन्द श्रेष्ठ सहित सय जना भन्दा बढी इन्जिनियरहरु सहभागी थिए ।

 

इन्जिनियरिङ क्षेत्रमा भित्रिदै गरेको नयाँ नयाँ प्रविधि, यसको अवसर र सम्भावनाका बिषयमा बेला बेलामा अद्यावधिक गराई राख्न यसप्रकारका गोष्ठीहरु महत्वपूर्ण हुने कार्यक्रममा सहभागी इन्जिनियरहरुले बताएका छन् ।

कार्यक्रमसँग सम्बन्धित थप फोटाहरु:

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार