खानेपानी संस्थानले वितरण गरेको पानी आइरनयुक्त

विराटनगर : खानेपानी संस्थान विराटनगरले वितरण गरेको खानेपानीमा आइरन भेटिएको छ । विराटनगरमा निर्माणाधीन सडक, ढल र नालीका कारण पानीमा आइरन मिसिएको हुनसक्ने बताएको छ ।

संस्थानको लापरबाहीका कारण आफूहरूले आइरनयुक्त खानेपानी प्रयोग गर्न बाध्य भएको विराटनगर–११ का उपभोक्ता रामसुन्दर राजवंशीले बताउनुभयो । चार वर्षअघि कोलिफर्मयुक्त पानी वितरण गर्दा जण्डिस फैलिएर दर्जनभन्दा बढीले ज्यान गुमाएका थिए ।

‘खानेपानीको लापरबाहीका कारण विगतकै घटना दोहोरिने अवस्था देखिएको छ । जताततै पाइप फुटेका कारण ढल र नालाको पानी उपभोक्ताको धारामा पुग्ने गरेको छ ।’ राजवंशीले भन्नुभयो । उहाँले महिनैपिच्छे बिल तिरे पनि संस्थानले वितरण गरेको पानी प्रयोग गर्न छाडेको बताउनुभयो । पटक–पटक संस्थानको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको उहाँको भनाइ छ ।

विराटनगरका अधिकांश वडामा खानेपानीको समस्या छ । धारामा पानी आउँदै नआउने र आए पनि धमिलो र खान अयोग्य पानी आएको विराटनगर–१२ की उपभोक्ता तारादेवी पौडेलले बताउनुभयो।

विकास निर्माणका कामहरू भइरहेकाले विभिन्न ठाउँमा खानेपानीका पाइपहरू फुटेकाले धाराको पानीमा लेदो र बालुवा गइरहेको कार्यालयका प्रमुख शैलेन्द्रकुमार साहले बताउनुभयो । “केही स्थानमा आइरन पनि देखिएको छ,” साहले भन्नुभयो, “केही समयभित्रै सबै समस्या समाधान हुन्छ ।”

खानेपानी समस्याको दिगो समाधानका लागि जाइकासँग कुराकानी भइरहेको बताउँदै साहले महानगरपालिका र खानेपानी संस्थानले संयुक्त रूपमा दसैं अगाडि डीपीआर तयार गरेर खानेपानीको व्यवस्थापन गर्ने गरी काम भइरहेको बताउनुभयो । हाल संस्थानले साढे ११ हजार घरधुरीमा दैनिक ९० देखि १ करोड लाख लिटर खानेपानी उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार