छाउ बार्नेको घरमा रातो झण्डा

 

डोटी : बर्षौदेखि व्याप्त छाउपडी प्रथाको अन्त्य गर्न आक्रमक रुपमा लागेको डोटीको पूर्वीचौकी गाउँपालिकाले छाउगोठमा बस्नेको घरमा रातो र नबस्नेको घरमा हरियो झन्डा लगाउने नीति लिएको छ । ‘अब हामी प्रत्येक घरमा झन्डा गाड्छौँ, यसो गर्दा समाजिक रूपमा तिरस्कार जस्तो हुन्छ । नैतिक दबाब पर्छ र छाउप्रथा त्याग्न थाल्छ’ गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।

गाउँपालिकाले छाउ नबार्ने महिलालाई पुरस्कार दिने निर्णय पाचौँ गाउँसभाबाट पारित गराईसकेको छ । अध्यक्ष बोगटीले भन्नुभयोे, ‘हामीले गाउँपालिकामा छाउपडी नबारेर घरभित्रै परिवारसँगै बस्ने महिलालाई प्रोत्साहनस्वरूप तीन हजारदेखि पाँच हजार पुरस्कार दिने नीति पारित गरेका छौँ ।’

छाउपडी नमान्नेलाई पुरस्कार मात्र होइन मान्नेलाई गाउँपालिकाले दण्डको पनि व्यवस्था गरेको छ । महिनावारी बार्नेलाई गाउँपालिकाबाट प्रदान हुने मृत्यु दर्ता, जन्मदर्ता, सामाजिक सुरक्षा भत्ता, विवाह दर्ता लगायत सेवा सुविधा नदिने निर्णय गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो । छाउपडी प्रथाका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएकाले यसको अन्त्यका लागि नयाँ योजना ल्याएको खड्काले बताउनुभयो ।

प्रदेशबाट छाउपडी प्रथा अन्त्य गर्न गाउँपालिका तयार रहेको उपाध्यक्ष निर्मला साउँदले बताउनुभयो । छाउपडीसँग सम्बन्धित अन्धविश्वास अन्त्य गर्नका लागि महिला शसक्त हुनुपर्ने साउँदले बताउनुभयो ।  ‘यसका लागि एक उदाहरण हुँ, मेरो घरमा आजकाल छोरीले पनि छाउ बार्दिनन्, मसँग देउता रिसाएका छैनन् झन् खुसी भएर गाउँपालिकाको नेतृत्व तहमा छु ।’

सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा छाउपडी नबार्दा देउता रिसाउने अन्धविश्वासले छाउपडी प्रथा अँगाल्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार