श्री ३ को पालामा बनेको ट्याङ्कीले बल्ल पालो पायो

 

धनकुटा : तत्कालीन श्री ३ चन्द्रशमसेरको पालामा बनेको ट्याङ्कीले बल्ल पालो पायो भन्ने खबर सुन्दा चन्द्रशमसेरको पालामा बनेको खानेपानीका संरचना पनि अझै छन् र ? भन्ने जिज्ञासा पैदा हुन सक्छ । यस्तो जिज्ञासा आउनु स्वभाविकै हो किनकि राणाकालीन समय पछि धेरै व्यवस्था फेरिएका छन् । धेरैले यो देशको सत्ताको बागडोर सम्हालेका छन् ।

उपभोक्ता समितिले यस्तो समस्या सँग जुध्दै गरेको बेला फण्डबोर्डका कार्यकारी निर्देशक लीलाप्रसाद ढकाल आयोजना स्थलमा पुग्नुभयो । 

तर जत्ति शासन व्यवस्था फेरिएपनि, देश चलाउनेहरुको नाम जत्ति परिवर्तन भएपनि केही समय अघिसम्म उही पुरानै अवस्थामा थियो धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.६ मा रहेको खानेपानी योजना । करिब सय बर्ष अघि अर्थात वि.सं.१९७९ मा तत्कालीन श्री ३ चन्द्र शमसेरको पालामा बनेको सानो ईन्टेक प्रतिस्थापन गरी अहिले सोलार लिफ्ट प्रविधिबाट खानेपानी वितरण गर्न थालिएको छ ।

श्री ३ चन्द्रशमसेरको पालामा बनेको पुरानो ट्याङ्की

खानेपानी आयोजना सम्पन्न भएपछि खिया लागेको सानो जी.आई पाइपवाट पानी पिउन बाध्य धारापानीका ९९ घरपरिवारले सुरक्षित पानी पिउन पाएका छन् । ‘खिया लागेको पाइपबाट आउने पानीले कतिबेला महामारी फैलिने हो भन्ने ठूलो डरको सामना गर्नुपरेको थियो, अब हामी ढुक्क छौं, हामीले सुरक्षित पानी पिउन पाएका छौ’ शिक्षक मोहन राईले बताउनुभयो ।

दशौं समूह अन्तर्गत सम्पन्न धारापानी खानेपानी तथा सरसफाइ आयोजनाका लागि ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डवोर्ड) ले ६१ लाख १७ हजार ९५१ लगानी गरेको छ । यस्तै उपभोक्ताको नगद योगदान ४ लाख ८८ हजार ५८७ र ११ लाख ७३ हजार ५९० रुपैयाँ बराबरको श्रमदान परेको उपभोक्ता समितिका अध्यक्ष ठाकुर प्रसाद राईले जानकारी दिनुभयो ।

झण्डै असफल भएको खानेपानी योजनामा यसरी मिल्यो सफलता

सोलार पम्प सिस्टम मात्र हुँदा घाम नलागेको बेला पानी पिउनै नपाउने धारापानीका बासिन्दालाई अहिले घाम लागोस् वा पानी परोस् जुनसुकै अवस्थामा पनि चिन्ता छैन ।

सुरुको डिजाइनमा सोलार लिफ्ट मात्र थियो । सोलार लिफ्ट मात्र हुँदा घाम नलाग्ने बेला सोलार चार्ज हुनै पाउँदैनथ्यो । विद्युत अभावमा पानी तान्न नपाएपछि उपभोक्ताले सोलार चार्ज हुने बेला मात्र खानेपानी पिउन पाउँथे, अरु बेला सुख्खै ।

उपभोक्ता समितिले यस्तो समस्या सँग जुध्दै गरेकै बेला फण्डबोर्डका कार्यकारी निर्देशक लीलाप्रसाद ढकाल आयोजना स्थलमा पुग्नुभयो । उहाँले आयोजनालाई कसरी प्रभावकारी वनाउन सकिन्छ बन्ने बिषयमा सहयोगी संस्था पर्डेप नेपालका पदाधिकारी र खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुसँग पटक – पटक छलफल गर्नुभयो ।

खानेपानी उपभोक्ता समिति र सहयोगी संस्थाले खानेपानी लिफ्ट गर्न नसक्नुको कारण पत्ता लगाइसकेको थियो । यदि बिजुली उपलब्ध भएमा घाम नलागेको बेला अर्थात सोलार चार्ज नभएको बेलामा समेत खानेपानी लिफ्ट गर्न सकिन्छ भन्नेमा ढुक्क थिए । त्यही प्रस्ताव कार्यकारी निर्देशक ढकाल समक्ष राखे ।

कार्यकारी निर्देशक ढकालले यो प्रस्तावलाई सकारात्मक रुपमा लिनुभयो । त्यसपछि उहाँ काठमाडौ फर्किन साथ विद्युतीय लिफ्टको लागि २ लाख ३० हजार रुपैयाँ रकम उपलव्ध गराउनुभयो । सो रकममा थप गरी उपभोक्ताले २ लाख ९५ हजार ३८२ रुपैयाँमा ट्रान्सफर्मर खरिद गर्‍यो । विद्युत प्राधिकरणसँग बाँकी कामको सम्झौता गरी ३ लाख १८ हजार २१२ रुपैयाँ अग्रिम भुक्तानी दिएपछि झण्डै असफलहुनै लागेको खानेपानी आयोजना सफल भएको हो ।

पर्डेप नेपाल धनकुटाका टिम लिडर नरेश श्रेष्ठ भन्नुहुन्छ ‘अहिले त विद्युतको माध्यबाट रिजर्भ्वायर ट्याङ्कीमा पानी राम्रोसँग जम्मा हुना थालेपछि नियमित र भरपर्दो ढंगवाट धारापानीबासीका लागि सुरक्षित खानेपानी आपूर्ति भईरहेको छ ।

 

सोलार लिफ्ट र विद्युतीय लिफ्टको माध्यमवाट मुहान देखि रिजर्भ्वायर ट्याङ्कीसम्म पानी तान्ने काम भएको छ । खानेपानी आयोजनामा ईन्टेक १, सम्पवेल १, सोलार पम्प १, स्वीच पम्प हाउस १, सेक्सनल भल्भ २ निर्माण गरिएका छन् । ५ किलोमिटर ५ सय मिटर मुख्य पाइप विछ्याइएको छ । १६ घनमिटरका २ वटा रिजर्भ्वायर ट्याङ्की समुदायकै लगानीमा निर्माण गरिएका छन् ।

 

उपभोक्ता समितिका सचिव मोहन राईका अनुसार १० किलोमिटर ६ सय मिटर वितरण पाइप मार्फत ९९ वटा धारा मार्फत खानेपानी वितरण गरिएको छ । ती मध्ये एउटा सामुदायिक र बाँकी सबै निजी धारा हुन् ।

सोलार पम्प सिस्टम मात्र हुँदा घाम नलागेको बेला पानी पिउनै नपाउने धारापानीका बासिन्दालाई अहिले घाम लागोस् वा पानी परोस् जुनसुकै अवस्थामा पनि चिन्ता छैन ।

घाम लागेको वेला सोलारले र घाम नलागेको अवस्थामा विद्युतीय माध्यमवाट पानी तानेर पानी वितरण भइरहेको सामुदायिक प्राविधिक डिक वहादुर राईले बताउनुभयो ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास फण्डवोर्डको आर्थिक तथा पर्डेप नेपालको प्राविधिक सहयोगमा सम्पन्न खानेपानीले आयआर्जनको अवसर समेत सिर्जना गरेको छ ।

कतिपय किसानले व्यवसायिक तरकारी खेती गर्ने तयारी गरिरहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार