हेटौंडा सहलगानी खानेपानीको शिलान्यास, खानेपानीले रोग लागे क्षतिपूर्ति दिईनेछ : बोर्ड अध्यक्ष

 

मकवानपुर : हेटौडा सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गरिएको छ । करिब एक महिना अघि ठेक्का सम्झौता भएको खानेपानी तथा सरसफाइ आयोजनाको हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आज शिलान्यास गर्नुभएको हो ।

खानेपानीको शिलान्यास कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, हेटौडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नन्दलाल बन्जाडे, उपप्रमुख मोहनलाल रेग्मी, खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकाल, वडाअध्यक्षहरु, बोर्डका सदस्यहरु एवं उपभोक्ताहरु उपस्थित हुनुहुन्थ्यो ।

शिलान्यास कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी एवं हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौडा उपमहानगरपालिका भित्रका खानेपानी उपभोक्ताले अबको केही बर्षभित्रै धाराबाट सीधै थापेर पिउन मिल्ने बताउनुभयो । ‘हेटौंडामा खानेपानी पिउनका लागि शुद्धिकरणको कुनै विधि अपनाउनु नपर्ने गरी सीधै धाराबाट पिउन मिल्ने मापदण्डको बनाउँछौं’ उहाँले भन्नुभयो ।

 

सन् २०४० सम्म बृद्धि हुने जनसंख्याका लागि पुग्ने : प्रमुख बन्जाडे

आयोजनाको लागतका बिषयमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नन्दलाल बन्जाडेले प्रकाश पार्नुभएको थियो । उहाँले हेटौंडा उपमहानगरपालिकाको वडा नं. २, ५, ७, ८, १० र १५ को लागि सन् २०४० सम्मको जनसंख्या प्रक्षेपण गरेर खानेपानीको डिजाइन गरिएको बताउनुभयो । सन् २०१८ मा खानेपानीको डिजाइन गर्दा १ लाख १२ हजार १३० जना रहेको जनसंख्या २०४० मा १ लाख ६६ हजार १०२ जना पुग्ने प्रक्षेपण गरिएको छ ।

आयोजना प्रमुख बन्जाडेले आयोजना अवधि दु्ई बर्षको भएपनि १८ महिना भित्रै सम्पन्न हुने दाबी गर्नुभयो । उहाँले ठेकेदार कम्पनीले विगतमा सम्पन्न गरेको आयोजना र अहिले गरिरहेको कामको प्रगतिले सम्झौता भन्दा अगाडि नै सकिनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

हेटौडा सहलगानी खानेपानी तथा सरसफाइ आयोजनामा नेपाल सरकारको ७० प्रतिशत, हेटौडा खानेपानी व्यवथास्पन बोर्डको १५ प्रतिशत र हेटौडा उपमहानगरपालिकाको १५ प्रतिशत लगानीमा करीब १६ करोड लगानी रहेको छ

खानेपानीले रोग व्याधि लागेको प्रमाणित भए क्षतिपूर्ति : बोर्ड अध्यक्ष

शिलान्यास कार्यक्रमका सभापति एवं हेटौडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले अबको केही समयभित्र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले वितरित पानीबाट कसैलाई रोगव्याधि लाग्यो भन्ने प्रमाणित भएमा क्षतिपूर्ति सहित उपचार गराईदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘हामी हरदम सुरक्षित पानी उपलब्ध गराउन तल्लीन छौं, उपमहानगरपालिका भित्रका सबै ठाउँका उपभोक्तालाई खानेपानी पु(याएपछि हामी गुणस्तरलाई अझ जोड दिन्छौं, बोर्डले वितरण गरेको पानीले कुनैलाई पानीजन्य रोग लाग्यो भन्ने मात्र प्रमाणित भएमा हामी क्षतिपूर्ति सहित उपचारको व्यवस्था गर्छौ’ उहाँले भन्नुभयो ।

 

 

बर्षदिन अगावै काम सम्पन्न हुने

निर्माणको ठेक्का पाएको कन्काई भीमेश्वर जेभीले ठेक्का सम्झौता गरेको महिना दिनमै आवश्यक सबै पाइप ढुवानी गरिसकेको छ एउटा डिप बोरिङको काम सम्पन्न गरिसकेको छ । दशैभित्रै ४ वटै डिपबोरिङको काम सम्पन्न गरिने कन्काई भीमेश्वर जेभीका सहदेव खड्काले बताउनुभयो ।

उहाँले २ वटा ट्याङ्की निर्माणको काम पनि सुरु भईसकेको र सम्झौता अगावै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । २०७६ असार २७ गते ठेक्का सम्झौता भएको हेटौडा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना २०७८ असार २६ गते सक्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार