सिर्स दाम्रीमा हिउँदमा कुवा, बर्षामा खोलाकै भर

 

 मनिराज पाण्डे

कालिकोट : पलाँता गाउँपालिका गाउँपालिका ९ को सिर्स र दाम्री बस्तीका ३२ घरधुरीले बर्षौदेखि खानेपानी अभाव झेल्दै आएको छ । यहाँका स्थानीयले खानेपानी ल्याउन घण्टौं समय खर्च गर्नुपर्ने बाध्यता छ । खाना पकाउन, भाँडाकुडा सरसफाइ गर्न र शौचालयमा सफा गर्न दैनिक २ जनाले पानी बोक्नु पर्ने बाध्यता रहेको पलाँता ८ की जुनदेबि रोकायाले बताउनुभयो ।

रोकायाको घरमा १२ जनाको परिवार छ । २०६४ साल तिर सरकारले खोला नजिकैको मुहान बाट आधीबाटो सम्म खानेपानी ल्याएपछि यहाँका स्थानीयले त्यही पानी खाने गरेको जुनदेवीले बताउनुभयो । घरबाट धारा पुगेर पानी भरेर फर्किन यहाँका स्थानीयलाइ ३ घण्टा लाग्ने गरेको छ । यहाँको स्थानीय सरकारले खानेपानी ब्यवस्थापनका लागि २०७४ साल बाट सिर्सदेडु खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना सञ्चालन गरेपनि अझै खानेपानी पुग्न सकेको छैन । यहाँको दाम्री र सिर्स बस्तीका ३२ घरधुरीले अहिले पनि हिउँदमा कुवाको पानी खान्छन् भने बर्षामा खोलाको ।

पानी शुद्ध छ छैन भन्दा पनि पानी पाउनु नै यहाँका लागि ठुलो कुरा भएको छ । दाम्री गाउँमा रहेको महादेव बालविकास केन्द्रका बिद्यार्थी बिद्यालयमा पानी तिर्खा लागे घरजाने गरेका छन् । यहाँको प्रत्येक घरमा एक जनाको काम दिनभर पानी बोक्ने मात्र हुन्छ ।

गाई बस्तुले खाने गरेको कुवाको पानी समेत खाने गरेको स्थानीय जोरासिंह रोकायले बताउनुभयो । खानेपानीको अभाव भएपछि सरसफाइ तथा स्वच्छतामा समेत असर परेको सरसफाइ तथा स्वच्छता प्रवर्धक नन्दा बिष्टले बताउनुभयो । यसै बर्ष सिर्स र दाम्रीका सबै घरधुरीमा खानेपानी पु¥याउने लक्ष्यका साथ काम अघि बढाइएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाती कान्छाले बताउनुुभयो ।

गाउँपालिकाले वाटर एड÷किर्डाक नेपाल सँगको सहकार्यमा पलाँता ७, ८ र ९ मा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । खानेपानीको चरम अभाव रहेको पलाँतामा आगामी बर्ष भित्र पलाँताका सबै घरधुरीमा शुद्ध खानेपानी पु¥याउने गाउँपालिकाले लक्ष्य लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार