२५ हजार नगद र ४५ दिन श्रमदानले आयो घरघरै धारा

बाग्लुङ : सदरमुकामको नजिकै भएर पनि बाग्लुङ नगरपालिका–४ पाखाथरका बासिन्दाले खानेपानी संकट भोग्दै आएका थिए । अन्य पूर्वाधारका संरचना बनिसके पनि खानेपानी नहुँदा उनीहरूले सदरमुकामवासी भएको अनुभव गर्न सकिरहेका थिएनन् ।

तर अवस्था अहिले परिवर्तन भएको छ । तल्लो पाखाथरमा दुई वर्षअघि सुरु भएको राइला–पाखाथर पम्पिङ योजना सम्पन्न भएसँगै स्थानीयको आँगनमा पानी आएको हो । नगरपालिकाले पम्पिङ प्रविधि मार्फत घरघरमा पानी दिएपछि पाखाथरवासीका दुःखका दिन गएजस्तै भएका छन् ।

खानेपानी योजनाबाट ४४ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । आयोजना निर्माणका लागि स्थान हरेक घरबाट ४५ दिनसम्म श्रमदान गरेका थिए । स्थानीयले प्रतिघर २५ हजार नगद सहित टोल विकास समिति, संस्थागत सदस्यताबाट संकलित रकम र चार लाख बराबरको श्रमदान गरी १० लाख ९ हजार लगानी गरेका छन् । नगरपालिकाले २० लाख ७३ हजार सहयोग गरेको पाखाथर पम्पिङ खानेपानी आयोजना निर्माण समितिका अध्यक्ष वासुदेव उपाध्यायले बताउनुभयो । उहाँका अनुसार आयोजनामा ३१ लाख ८१ हजार लगानी भएको छ ।

आयोजनाले बस्तीदेखि तीन सय मिटर तलको मूलको पानी तानेर संकलन गरी लिफ्ट प्रविधि मार्फत डाँडामा ल्याएको छ । सो स्थानमा ५० हजार लिटरको अर्को ट्ंयाकी बनाए पछि गाउँभरि खानेपानी वितरण गरिएको छ ।

अब २४ सै घन्टा स्वच्छ पानी प्रयोग गर्न पाउनेछन् । सदरमुकाम नजिकै भएर पनि खानेपानीको सास्ती व्यहोर्न बाध्य बासिन्दाको माग सम्बोधन गर्न सकेकोमा खुसी लागेको बाग्लुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार