खानेपानी अभावमा गाउँ छाडेकाहरु दशैंमा पनि फर्केनन्

 

सल्यान : सल्यानको कालीमाटी गाउँपालिका टोटकेका वेदबहादुर डाँगीको परिवार दशैंमा पनि गाउँ फर्केर आउनुभएन । विभिन्न सुविधा खोज्दै सेतीखोला झरेका डाँगी परिवारले गाउँलाई माया मारेको ठ्याक्कै ६ बर्ष बित्यो । ६ बर्ष अघि नै पुतलीबजारमा बसाइ सरेका उहाँकै छिमेकी नन्दलाल डाँगीले पनि दशैंमा गाउँलाई सम्झनुभएन । दुई वर्षअघि गाउँ छाडेर हिडेका जहरसिंह ओली, जयलाल ओली लगायतको परिवारले गाउँ टेक्नुभएन ।

उहाँहरू मात्र होइन, टोटकेका अधिकांश परिवार खानेपानी, सडक, सिँचाइ, लगायत सुविधा खोज्दै अन्यत्र बसाइ सरेपछि दशैं जस्तो चाडबाडमा समेत गाउँमा शुन्यता छाएको छ ।

गाउँका अधिकांशले कालीमाटी गाउँपालिकाको केन्द्र पुतलीबजार र वडा ३ को सेतीखोलालाई नयाँ बासस्थान बनाएका छन् । केही परिवार सदरमुकाम खलंगा र दाङको तुलसीपुरमा बसाइ सरेर गएका छन् । गाउँका अधिकांश घर जीर्ण बन्दै भत्कने क्रममा छन् जग्गामा विभिन्न रुख–बिरुवा उम्रिएका छन् ।

गाउँका सबै घर अन्यत्र गएपछि लालीगुराँस आधारभूत विद्यालय २ वर्षअघि बन्द भयो । खानेपानी, सिँचाइ, सडक लगायत असुविधा भएपछि सर्वसाधारण धमाधम बसाइ सरेका हुन् । सबै घरधुरी विस्थापित हुँदा खेतीयोग्य जग्गा प्रयोगविहीन बनेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गाउँपालिकाको केन्द्र पुतलीबजार बसाइ सरेकाहरू कहिलेकाँही मात्र तीन घन्टाको उकालो चढेर टोटके पुग्ने गरेका छन् ।

स्थानीय झुपसिंह डाँगीले विभिन्न असुविधा भएपछि आफूहरू बेंसी झरेको बताउनुभयो । ‘डाँडाको बस्ती भएकाले सबैभन्दा बढी खानेपानीको असुविधा थियो, अधिकांशले माथिको घरजग्गा नबेचेरै यहाँ बसाइ सरेका हौं, सबैजना झरेपछि गाउँ जंगलमा परिणत भइरहेको छ ।’ उहाँले भन्नुभयो ।

अहिले टोटके मानवविहीन बनेको छ  । बर्सेनी दुई चार परिवार झर्दाझर्दै गाउँ खाली भएको डाँगीले बताउनुभयो । दुई वर्षयता गाउँ जंगली जनावरको बासस्थानको रुपमा परिणत बनेको स्थानीय लालबहादुर ओलीले बताउनुभयो । ‘विभिन्न सरकारी निकायमा बारम्बार खानेपानी योजना सञ्चालन गर्न माग गरियो, बढी खर्च लाग्ने भन्दै सबैले बेवास्ता गरे,’ उहाँले भन्नुभयो, ‘खानेपानीको चरम अभाव भएपछि यहाँ झर्नुको विकल्पै भएन ।’ उहाँका अनुसार ६ वर्षअघिसम्म टोटकेका बासिन्दालाई खानेपानीका लागि डेढ घण्टा हिड्नुपर्ने बाध्यता थियो ।

करिब दुई दर्जन घर भएको टोटके गाउँमा खानेपानी र सिँचाइ सुविधा नहुँदा आकासे पानीको भर पर्नुपर्ने बाध्यता थियो । दुःख गरी लगाएको बाली जंगली जनावरले नष्ट गरिदिने समस्याबाट समेत सर्वसाधारण आजित थिए । स्थानीय चन्द्रबहादुर डाँगीका अनुसार गाउँ अहिले आसपासका बस्तीका पशुचौपायाको चरनस्थलमा परिणत भएको छ । ‘हामी पनि कहिलेकाँही पुरानो बस्तीतिर पशु चौपाया चराउन जान्छौं,’ उहाँले भन्नुभयो, ‘अहिले सबैका जग्गाजमिन बाँझिए, पुरानो घर हेर्दा मनै भक्कानिन्छ, आफू जन्मे हुर्केको गाउँ असुविधाकै कारण छाड्नुपर्ने बाध्यता भयो ।’ उच्च पहाडी भेगबाट सुबिधा खोज्दै बेंसीतिर झर्दा कालीमाटी गाउँपालिकाको सिद्धकुमाख गाउँपालिकाको ओखरबोट, उचाल्ने, कुमाख गाउँपालिकाको जोगिनीगारे , लक्ष्मीपुरको चोत्रे लगायत बस्ती सुनसान भएका छन् ।

अधिकांश गाउँ जंगलमा परिणत भएका छन् भने घर भग्नाबशेषमा परिणत भएको स्थानीयको भनाइ छ । बसाइसराइका कारण बेंसीका गाउँ भने क्रमशः भरिभराउ हुन थालेका छन् । बसाइ सर्ने क्रम बढेसँगै शारदा खोला आसपासका बस्तीहरू व्यापारिक केन्द्रको रुपमा परिणत हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार