मिछुर्लुङबासीको दशैं बन्यो खास, खानेपानीले छायो हर्षोल्लास

 

तनहुँ : झिसमिसेमै धाराबाट पानी झर्न थालेपछि तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङबासीका लागि यस पटकको दसैं खास बन्यो ।

अष्टमीका दिनमा गाउँका सबै ७४ घरमै पानी आएपछि स्थानीयबासीले यसपटक बल्ल दसैं आए जस्तो महसुस गरे । ‘घरको धारामा धेरै वर्षपछि पानी खसेकाले दसैंको खास अर्थ रह्यो,’ स्थानीय रुन्चीमाया सुनारी मगरले भन्नुभयो ‘अब पानीका दुस्ख हटे ।’

घरघरमा खानेपानी आउँदा स्थानीय फुरुंग भए । खानेपानी दसैंको उपहार जस्तै भएको सुनारी मगरको भनाइ छ । ‘अब खानेपानीका लागि दुस्ख गर्नु पर्दैन । महिना दिनसम्म गरेको श्रम पानी आएपछि बिर्सिएका छौं ।’उहाँले भन्नुभयो ।

सेतीमाया थापा पनि निकै खुसी हुनुहुन्थ्यो । ‘दशक अघिसम्म कुवामा पानी पनि खोजेर हिँड्नुपर्थ्यो,’ उहाँले भन्नुभयो, ‘पानीका लागि बिहान ३र४ बजे उठ्नुपर्थ्यो ।’

खानेपानी घरघरमा आएपछि होमस्टे सञ्चालनमा सहज भएको मिछुर्लुङ सामुदायिक होमस्टेका अध्यक्ष नरेन्द्र थापाले बताउनुभयो । ‘पानीका कारण होमस्टे सञ्चालनमा समस्या थियो,’ उहाँले भन्नुभयो ‘बाथरुम बनाउन पाइएको थिएन । अब सजिलो भयो ।’ घरघरमा पानीका धारा आएपछि अब होमस्टे सञ्चालन गर्न सहज भएको र सबै घरमा बाथरुम बनाउने योजना बनाएको उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारले स्थानीयको श्रमदानसहित १ करोड १४ लाख ८६ हजार ५ सय ४१ रुपैयाँको लागतमा मिछुर्लुङ धारादी खानेपानी योजना बनाएको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय तनहुँले जनाएको छ । गाउँमा ७४ धारा निर्माण सम्पन्न गरी दसैंको अष्टमीको दिनबाट गाउँलाई खानेपानी वितरण गरेको खानेपानी उपभोक्ता समितिका सचिव राजेन्द्र थापाले बताउनुभयो । मुहानको ट्यांकी १४ हजार र वितरण गर्न रिर्जभ ट्यांकी क्षमता २० हजार लिटर रहेको उहाँले बताउनुभयो ।

धारादीबाट सोलार लिफटिङ प्रणालीबाट खानेपानी योजना सञ्चालन गरिएको हो । खानेपानी योजना सम्पन्न भएपछि ७४ परिवार लाभान्वित भएका छन । स्थानीयको सहयोगका कारण पुस १५ गते सम्पन्न गर्नुपर्ने खानेपानी योजना दसैं अगाडि सम्पन्न गरेको ठेकेदार कम्पनी गण्डकी निर्माण सेवाका डिल्लीराम श्रेष्ठले बताउनुभयो ।
०६२ सालमा धुरसेल्दी र पञ्चकन्याबाट गाउँमा पानी ल्याइएको थियो । दुवै मुहानबाट विद्युतीय लिफटिङ प्रविधिबाट खानेपानी गाउँमा ल्याएपनि भूकम्पले मुहान बिगारेपछि गाउँमा खानेपानीको समस्या भएको थियो । यतिबेला धारादीको मुहानबाट खानेपानी ल्याएपछि दशैं खास बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार