चाडपर्व मनाउने बेला पानी ओसार्नै ठिक्क

प्यूठान : चाडपर्वका बेला धारामा खानेपानी नआउँदा बृहत बिजुवार साना सहरी खानेपानी आयोजना अन्तर्गतका उपभोक्ता खोलाकै पानीमा भर पर्न वाध्य छन् । धारामा पानी आउन छाडेपछि उपभोक्ताले पुराना मूल, झिमरुक र जुम्रिखोलामा धाएर पानी ल्याउन थालेका छन् ।
पानीको स्रोत सुक्दै गएपछि आयोजना अन्तर्गत निर्माण गरिएका इनारमा पानी कम भएकाले धारामा नियमित पानी छोड्न नसकिएको समितिले जनाएको छ ।

घरघरमा धारा राख्नका लागि ठूलो रकम खर्च गरे पनि पानी नआउँदा धेरै समस्या भोग्नु परेको प्यूठान नगरपालिका–४, बिजुवारका बाबुराम श्रेष्ठले बताउनुभयो । ‘दसैभर खानेपानीको समस्या झेलें, तिहार लाग्यो, अब तिहारमा पनि उस्तै अवस्था हुने होला’ उहाँले भन्नुभयो, ‘रमाएर चाडपर्व मनाउने बेला सधैं हामीलाई पानीकै पिरलो हुन्छ ।’

केही दिन पहिलेसम्म एक दिन बिराएर धारामा पानी आउने गरेकामा अहिले चार दिनको फरकमा मात्र पानी पठाउने गरिएको छ । पानीको समस्या भएको विषयमा गुनासो गर्न थालेको धेरै दिन भए पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । धारामा पानी नियमित नआए पनि पैसा भने नियमित तिर्न परिरहने स्थानीय दोबन्ता पाठकले बताउनुभयो । ‘पानी आए पनि नआए पनि महिनामा २ सय ५० रुपैयाँ न्यूनतम तिर्नैपर्छ, हाम्रो गुनासो कसले सुन्ने ?’ पानी नआएको विषयमा स्थानीय जनप्रतिनिधिसँग समेत गुनासो गरेको बताउनुभयो ।

प्यूठान नगरपालिका–८, ७, ४, ३ र २ वडामा वितरण गरिएका १ हजार ६ सयभन्दा बढी उपभोक्ताका धारामा अहिले नियमित पानी आउन छाडेको छ । बिजुवार, टारी र जुम्री क्षेत्रका स्थानीयले उपभोक्ता समितिका पदाधिकारीलाई बोलाएर पानी नआएको विषयमा सामूहिक गुनासो गरेको टारीका सुरेन्द्र सुवेदीले बताउनुभयो । आयोजना निर्माण गर्दा दिगोपनाबारे नसोचिएका कारण उपभोक्ताले दुःख पाउने गरेको सुवेदीको आरोप छ ।

नगरपालिकाको मुख्य बजार क्षेत्रमा खानेपानीको समस्या भएकामा प्यूठान नगरपालिका गम्भीर बनेको प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । उहाँले बृहत् खानेपानीका रिजर्भ ट्यांकी मिसाउने गरी टिकुरीमा र दाखाक्वाडीमा लिफ्ट योजना निर्माण भइरहेको बताउनुभयो ।

पहिले निर्माण गरिएका इनारमा पानीको स्रोत राम्रो नभएकाले नियमित पानी पठाउन समस्या भएको उपभोक्ता समिति अध्यक्ष जानुका केसीले बताउनुभयो । बिजुवारको भौकाबाहेक अन्य स्थानमा बनाएका पुराना इनारमा पानीको स्रोत सुकेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार