खानेपानी संस्थानका कर्मचारी व्यवस्थापन बोर्ड अन्तर्गत

सुनसरी : धरान खानेपानी व्यवस्थापन बोर्डले नेपाल खानेपानी संस्थान धरान शाखाका सवै कर्मचारीलाई खानेपानी व्यवस्थापन बोर्डमा हाजिर हुन पत्राचार गरेको छ ।

कात्तिक ६ मा संस्थानका महाप्रवन्धक, बोर्डका पदाधिकारीको उपस्थिति एवं खानेपानी मन्त्री विना मगरको अध्यक्षतामा बसेको बैठकले संस्थानका कर्मचारी तत्काल बोर्डमा आउनु पर्ने र खानेपानी व्यबस्थापन वितरणको कामलाइ निरन्तरता दिने निर्णय भए अनुसार संस्थानको कर्मचारीलाई बोर्ड अन्तर्गत ल्याउन लागिएको हो ।

संस्थानको सम्पती र दायित्व बोर्डमा हस्तान्तरण हुने सरकारले निर्णय गरेको र संस्थान नरहने भएकाले संस्थानका कर्मचारीलाई बोर्ड मार्फत रहन आग्रह गरिएको धरान उपमहानगरकी कार्यवाहक प्रमुख तथा बोर्ड अध्यक्ष मञ्जु भण्डारी सुवेदीले बताउनुभयो ।

खानेपानी मन्त्रालयले पनि संस्थानका सवै कर्मचारी धरान खानेपानी व्यबस्थापन बोर्डमा जान निर्देशन दिएको छ । मन्त्रालय, खानेपानी संस्थान र बोर्डको निर्णय अनुसारको पत्राचार पछि कात्तिक १४ गते पछि संस्थानका कर्मचारीहरू बोर्डमा आउने तयारी भइरहेको संस्थानका कर्मचारीले बताए ।

धरानको खानेपानी समस्याको दीर्घकालिन समाधानकालागि एसियाली विकास बैंकको २२ मिलियन डलर ऋण तथा अनुदान सहयोगमा धरान खानेपानी आयोजना सुरु भएपछि संस्थानले आयोजनालाई असहयोग गर्दै आएको थियो । सरकारले संस्थानको शाखा कार्यालयको सम्पत्ति तथा दायित्व र जिम्मेवारीको मुल्याङ्कन गरेर पठाएपनि शाखाका केही कर्मचारीले सम्पती र दायित्वको मुल्यांकन कम देखाएको भन्दै बोर्डमा हस्तान्तरण गर्न आनाकानी गरेका थिए ।

संस्थानको सम्पती र दायित्व बोर्डमा हस्तान्तरण गर्नु पर्ने निर्णय गरेर मन्त्रीपरिषदले ०७५ असार ३१ गतेको राजपत्रमा प्रकाशित गरि सकेको छ । तर संस्थानको शाखा कार्यालयका कर्मचारीले बोर्डमा समायोजन हुन आनाकानी गरेपछि कात्तिक ६ गते तीन महिनाभित्र संस्थानको सम्पती र दायित्व पुन मुल्यांकन गर्ने र धरानको खानेपानी वितरण सहज बनाउन तत्काल संस्थानका कर्मचारी बोर्ड मार्फत परिचालित हनु पर्ने निर्णय भएपछि सोही अनुसार पत्राचार गरिएको आयोजना व्यबस्थापक इन्जिनियर राजु पोखरेलले बताउनुभयो ।

संस्थानमा २३ जना स्थायी, १८ जना दैनिक ज्यालादारीमा र बांकी करार सहित ८० जना कार्यरत छन् । संस्थानका लेखा प्रमुख दिनेश चिमोरियाले सस्थानको सम्पति र दायित्व ६२ करोड रुपैयाँ मात्र मुल्याङ्कन गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार