वीरगन्ज : वीरगन्ज महानगरपालिकाको मध्य भाग भएर बग्ने सिर्सिया नदीमा मिसिएको प्रदूषणले गर्दा छठ व्यवस्थापन समितिहरूलाई सकस भएको छ । फोहोर पानीमा प्रवेश गरी सूर्यलाई अर्घ्य कसरी दिने र नदी किनारमा उपासना कसरी गर्ने भन्नेमा समितिहरू चिन्तित छन् । सिर्सिया नदीको पानी विगतमा घरायसी प्रयोजन, कृषि उत्पादन र पशुपन्छीका लागि पिउने पानीका रूपमा प्रयोग हुन्थ्यो । हिन्दु धर्मावलम्बीहरूका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्था र विश्वास बोकेको नदीका रूपमा यसलाई लिने गरिन्छ ।
पर्सा बारा औद्योगिक कोरिडोरका छाला, टेक्सटाइल्स, फर्मास्युटीकल्स लगायतका उद्योगले रसायनयुक्त पानी प्रशोधन नगरी सिधैँ सिर्सिया नदीमा छाड्ने गरेकाले नदी अत्यधिक प्रदूषित बनेको छ । रानीघाट छठ व्यवस्थापन समितिका अध्यक्ष अनिल कलवारका अनुसार गत साता नै प्रदूषण नियन्त्रणका लागि सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज उद्योग वाणिज्य संघलाई पत्रचार गरिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । ‘उद्योगको फोहोर नदीमा मिसाउन नदिइने आश्वासन दिए पनि हालसम्म कार्यान्वयन भएको छैन,’ कलावार भन्छन्, ‘नदीको पानीमा अहिले पनि कालो, बाक्लो लेदो मिसिएको छ ।’ सिर्सिया नदीको विभिन्न एक दर्जनभन्दा बढी किनारमा छठ पर्व हुँदै आएको छ ।
गत सोमबार पर्सा क्षेत्र नम्बर एकका सांसद, वीरगन्जका मेयर र प्रहरी प्रशासनको एक टोलीले नदीमा बढी प्रदूषण मिसाउने उद्योगको अनुगमन गरेको थियो । अनुगमन टोलीले औद्योगिक कोरिडोरका उद्योगहरूलाई छठ पर्व अगाडि कुनै किसिमको फोहोर नदीमा उत्सर्जित नर्गन निर्देशन समेत दिएको थियो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले यो विषय अहिले स्थानीय तह अन्तर्गत पर्ने बताए । ‘मुलत: यो अहिले स्थानीय तह अन्तर्गत आइसकेको छ,’ उनले भने, ‘नदीको प्रदूषण नियन्त्रण गर्न हाम्रो सहयोग छँदैछ ।’ महानगरका मेयर विजयकुमार सरावगीले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि पहल थालेको दाबी गरेका छन् । उद्योग स्थापना गर्ने बेलामा स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अधिकांश उद्योगले पालना गरेको छैनन् ।