मेलम्ची सम्पन्न हुने मिति चाँडै तोकिने मन्त्री मगरको उदघोष

 

सिन्धुपाल्चोक : खानेपानीमन्त्री बिना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति अब चाँडै तोक्ने उदघोष गर्नुभएको छ । मेलम्ची सम्पन्न गर्नको लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेको जानकारी गराउँदै उहाँले अब सम्पन्न हुने मिति तोकिने बताउनुभयो । मन्त्री मगरले आयोजनाको समय थपिँदै जानुले राम्रो सन्देश नजाने भएकाले मेलम्चीलाई तीव्रताका साथ लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

‘बुधबार मन्त्री मगरले मेलम्ची नगरको खानेपानी साइट कार्यालयमा सञ्चारकर्मीसँगको भेटमा भन्नुभयो ‘सिएमसीपछि जुन अवस्था मेलम्चीको आएको छ, त्यो खेदपूर्ण छ, अबको टिमले राम्रो सँग उत्साहजनक रुपले काम गर्नेछ, मन्त्रालयको टिमले यसबारे गहिरो अनुसन्धान गरेर कामलाई अगाडि बढाइरहेको छ ।’

उहाँका अनुसार स्थानीयको रोयल्टीदेखि स्थानीय कामदारको पारिश्रमिकबारे एउटा समिति बनिसकेको छ । ‘त्यसबारे आवश्यक छानबिन गरिरहेको र योजना सम्पन्न गर्ने मिति चाडै तोकिने उहाँको भनाई थियो । मन्त्री मगरले मन्त्रालयको टोली, आयोजनाका प्रतिनिधिसँगै हेलम्बु गाउँपालिकाको अम्बाथान स्थित खानेपानीको मुहानस्थल, हेर्डवक्सस्थल निरीक्षण गर्नुभयो।

नौ महिनाअघि ठेक्का तोडेर इटालियन कम्पनी सिएमसी आफ्नै देश फर्केपछि अन्योलमा परेको थियो । सिनो हाइड्रोले ठेक्का पाएसँगै आहिले आयोजनामा टनेल, पर्खाल लगायतको काम सुरु भइसकेको छ । यसअघि श्रेष्ठ कन्स्ट्रक्सनले खोलासँग जोड्ने पर्खालको संरचना बनाइसकेको छ ।

यसैबीच सिएमसीसँग सरकारले लिएको चार अर्ब धरौटी जफत भित्रबाट पाउनुपर्ने पारिश्रमिक नपाएमा पुनः आन्दोलनमा उत्रिने पीडित व्यवसायीले चेतावनी दिएका छन् । दुई महिनाभित्रै पारिश्रमिक दिने आश्वासन दिइए पनि आयोजनाले वेवास्ता गर्दै आएको भन्दै उनीहरुले आन्दोलनको चेतावनी दिएका हुन् । सामान्य कामदारको मात्रै आठ करोड ७४ लाख रुपैयाँ र फर्मवाला ठेकेदारको १६ करोड ५० लाख बराबरको रकम डुबेको मेलम्ची खानेपानी आयोजना पीडित उत्तरकुमार श्रेष्ठले बताउनुभयो ।

४६ दिनभित्र दैनिक १७ करोड लिटर पानी राजधानी लैजाने आयोजनाको लक्ष्य पुरा नभएसँगै निर्माणमा संलग्न नेपाली कामदार, ठेकेदारले तलबभत्ता र सञ्चयकोष बापत १ अर्ब ६८ करोड भुक्तानी पाएका छैनन् । पीडित व्यवसायीले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, खानेपानी मन्त्रालय देखि मेलम्ची खानेपानी आयोजना र स्थानीय सरकारलाई समेत ज्ञापन पत्र बुझाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार