पानीका मुहान धमाधम बेचिदै

 

कालिकोट : कालिकोटमा पानीका मुहानहरु धमाधम किनबेच हुने गरेका छन् । रासकोट नगरपालिकाले अध्ययन गर्दा नगर क्षेत्र भित्र १ सय ५३ मुहानहरु रहेकोमा ६० वटा मुहान जलस्रोत समितिमा दर्ता भएको रास्कोट नगरपालिका प्रमुख काँसीचन्द्र बरालले बताउनुभयो।

नगरपालिकाले मुहान समेत किनबेच चलेको देखेपछि उपभोक्ता समिति मात्रै दर्ता गर्ने मुहान दर्तालाइ रोक्ने काम गरेको प्रमुख वरालले बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहबाट ५ लाख बजेट व्यवस्था गरिएको योजनामा ४ लाखमा मुहान किनेर १ लाखले योजना बनाउने अवस्था देखिन थालेपछि मुहान किनबेच रोक्नका लागि मुहान नगरपालिकाले मुहान दर्ता रोकेको वताइएको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले कालिकोट सदरमुकाम मान्ममा आयोजना गरेको खानेपानी सम्बन्धि नीतिगत कार्यशालामा अधिकांश स्थानीय तहका प्रमुखहरुले मुहान दर्ता र योजना छनौट तथा कार्यान्वयन समस्याको बिषय बनेको धारणा राखेका थिए ।

पलाँता गाउँपालिकाका प्रसासकीय प्रमुख राजबहादुर वमले पहिले जिल्ला जलस्रोत समिति बैठक मार्फत मुहान दर्ता र उपभोक्ता समितिलाई प्रमाणपत्र दिने प्राबधान रहेकोमा पछिल्लो समयमा अन्यौलता रहेको बताउनुभयो । पलाँता र शुभकालिकाले खानेपानी तथा सरसफाइ सम्बन्धि कार्यविधि बनाए पनि मुहान दर्ता प्रमाणपत्र दिन सकेका छैनन् । खाँडाचक्र नगर कालिकोटका प्रमुख जसिप्रसाद पाण्डेले उपभोक्ता समितिहरु मर्न नदिनका लागि दर्ता र नविकरण व्यवस्थित गर्न अत्यन्तै जरुरी रहेको भन्दै स्थानीय स्तरबाटै थप अग्रसरता देखाउन खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघलार्इ अझै सक्रिय हुन सुझाव दिनुभयो ।

मुहान किनबेच चल्ने विषयलाइ गम्भीरताका साथ लिन जरुरी भएतापनि मुहान दर्ता प्रक्रिया रोक्ने अधिकार स्थानीय तहलाई नभएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ कालिकोटका अध्यक्ष चित्रसिंह गाउँलेको भनाइ छ । ‘आफ्नो जग्गामा मुहान भएकै नाउँमा पानीको एकलौटी हक आफुमै छ भनेर पानी उपभोक्तालाइ पानीबाट बञ्चित हुने गरि न त कसैलाई मुहान बेच्ने हक छ न स्थानीय तहलाई मुहान दर्ता रोक्ने अधिकार छ’ अध्यक्ष गाउँलेले भन्नुभयो ।

महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले उपभोक्ता समितिलाई संस्थागत रुपमा दर्ता गरेर बिधिपुर्बक सञ्चालन गर्न मुहान दर्ता अनिवार्य गरिनुपर्ने बताउनुभयो । योजनाको दिगोपना र पारदर्शिताको लागि उपभोक्ता संस्थालाई व्यवस्थित गर्नुु अनिवार्य हुने भएकै कारण महासंघ उपभोक्ता अधिकारका लागि अगुवाइ गरिरहेको उहाँको भनाइ थियोे । कार्यक्रममा कालिकोट जस्तो बिकट जिल्लामा संघ तथा प्रदेश सरकारबाट दुई लाख भन्दा पनि कम शिर्षकमा बजेट आउने गरेर समस्या बनेको सहभागीहरुको गुनासो थियोे ।

सो अवसरमा कर्णाली प्रदेश सभा सांसद कुर्मराज शाहीले पहिले पहिले जग्गा दलाली चले जस्तै हाल योजना दलाली चल्न सुरु भएको कारण झ्यालबाट आउने योजनाको प्रभाव खानेपानी क्षेत्रमा पनि परेको वताउनुभयो । कालिकोटमा खानेपानी समस्या रहनु हुदैन भन्ने उद्देश्यले आफु आवश्यकताका आधारमा समस्या निराकरण गर्न स्थानीय तहसँगको समन्वयमा योजना सिफारिस गर्दै आएपनि योजना दलालहरुले प्रदेशका योजना प्रभावित गरेको उहाँको भनाइ थियो । अघिल्लो वर्षको तुलनामा हाल आएर योजना छनौट र कार्यान्वयनमा सुधार आएको सांसद शाहीको दाबी थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार