देउराली टोल धादिङकै पहिलो नमुना गाउँ, प्रतिनिधिसभा सांसदद्वारा सफा र स्वच्छ गाउँ घोषणा

 

धादिङ : धादिङ जिल्लाको ज्वालाममूखी गाउँपालिकाको केन्द्र मानिने वडा नं. ६ को देउराली टोल सरसफाइ स्वच्छताको नमुना गाउँ बनेकोे छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सांसद रामकुमार अधिकारी र ज्वालामुखी गाउँपालिका अध्यक्ष बिनोदराज तिमल्सेनाले देउराली टोललाई सफा र स्वच्छ गाउँ घोषणा गर्नुभएको हो ।

गाउँमा रहेको चौंतीसै घरमा पूर्ण सरसफाइ मार्गदर्शन २०७३ ले निर्धारण गरेको सम्पूर्ण सूचक पुरा भए पश्चात देउराली टोल विकास समितिले आयोजना गरिएको घोषणा समारोहमा गाउँलाई सफा र स्वच्छ गाउँ घोषणा गरिएको शान्ति नेपालका अनुगमन मुल्याङ्कन सहायक अधिकृत सुरेश सिग्देलले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार सात महिना अघि ज्वालामुखी गाउँपालिकाको साझेदारीमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) र शान्ति नेपालको आर्थिक तथा प्राबिधिक सहयोग तथा सहजीकरणमा टोल विकास समिति गठन गरिएको थियो भने टोल विकास समितिका पदाधिकारीहरुलाई पूर्ण सरसफाइको बिषयमा अभिमुखीकरणका साथै गाउँ सरसफाइ तथा स्वच्छताका विभिन्न बिषयमा सचेतीकरण एवं सहजीकरण गरिएको थियो ।

नमुना सफा स्वच्छ गाउँ घोषणा समारोहमा प्रतिनिधि सभाका सांसद डा. रामकुमार अधिकारीले गाउँलाई नमुना सफा र स्वच्छ गाउँ बनाउन समुदायको योगदान र सहयोगी संस्थाको कदर गर्दै प्राप्त सूचकहरुलाई निरन्तरताको लागि समुदायलाई अनुरोध गर्नुभयो ।

 

यस्तै गाउँपालिका प्रमुख विनोदराज तिमल्सेनाले यो अभियान सिंगो गाउँपालिकामा गर्नका लागि सूरुवात भएको बताउनुभयो । यस्तै शान्ति नेपालका कार्यकारी निर्देशक डा. कृष्णमान शाक्यले आफ्नो गाउँ जिल्लाकै पहिलो सरसफाइ र स्वच्छतामा नमूना बनाउन सफल भएकोमा बधाई दिदै सरसफाइ प्रतिको आनीबानीमा आएको परिवर्तनलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

 

के हो, नमुना सफा र स्वच्छ गाउँ ?

खुल्ला दिसामुक्त क्षेत्र घोषणा पश्चात खानेपानी, सरसफाइ र स्वच्छताका आधारभूत सुविधाहरु (खानेपानी, शौचालय) पहूँच र स्तरोन्नति सुधार, खानेपानी, सरसफाइ र स्वच्छताका स्वस्थकर व्यवहारको पूर्ण पालना गरी निरन्तरता दिएको र पूर्णं सरसफाइ निर्देशिका २०७३ अन्तर्गत सफा गाउँ घोषणाका लागि उल्लेखित सुचकहरु प्राप्त गरेका समुदायलाई जनाउँदछ ।

यो नेपाल सरकारको सरफाइको राष्ट्रिय नीति अनुसारको सरसफाइको दोस्रो चरण तथा समृद्धि स्वस्थ र सुखी नेपाली बनाउने र दिगो विकास लक्ष्य प्राप्तिको एक मुख्य आधारको रुपमा रहेको छ ।

लक्ष्य

– आगामी एक बर्षमा जिल्लामा पहिलो नमुना स्वस्थ समुदायको विकास र घोषणा गर्ने ।

घोषणाको उद्देश्य

– खानेपानी सरसफाइ र स्वच्छतामा राम्रा आनीवानी अवलम्वन गरिएको एक नमुना स्वस्थ समुदायको विकास गर्न ।

–  समुदायमा खानेपानी, सरसफाइ र स्वच्छताजन्य स्वास्थ्य समस्याहरुको न्यूनीकरण गर्न ।

– गाउँपालिका तथा जिल्लामा खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रका गतिविधि सञ्चालन नगर्न एक उदाहरण स्थलको रुपमा विकास गर्न ।

 

कार्यान्वयन प्रक्रिया र संलग्नता :

यो कार्यक्रम ज्वालामुखी गाउँपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत आगामी सन् २०२३ सम्ममा गाउँपालिकालाई नै सफा तथा स्वस्थ क्षेत्र घोषणा गर्ने अभियाननको थालनीको रुपमा रहेको छ । नमुनाको रुपमा रहेको यस कार्यक्रममा समावेश भएका घर परिवारका सबै जनामा सरसफाइ र स्वच्छता सम्बन्धी थप जनचेतना अभिबृद्धि, सचेतीकरण र महसुसीकरण वा जागरण भै बानी व्यवहारमा सुधार र निरन्तरता भएको अवस्था पछि हुने अवस्था हो ।

तसर्थ समुदायमा सरसफाइ सम्बन्धी बानी व्यवहारबारे गहिरो गरी छलफल, अनुगमन र उत्प्रेरणा जगाउने कार्य निरन्तर हुन आवश्यक छ । यो अभियान समुदायको सभ्यता, संस्कार, सामाजिक इज्जत र प्रतिष्ठासँग पनि जोडिएको हुँदा यसमा विशेष गरी स्थानीय समुदाय, सामाजिक अगुवा, विद्यालय, स्वयंसेवक तथा समितिहरुको अग्रणी भूमिका रहेको छ ।

कार्यक्रमको स्वामित्व, अनुगमन निरिक्षण आदि क्षेत्रमा स्थानीय टोल विकास समिति, वडा कार्यालय, गाउँपालिकाको मुख्य भूमिका रहनेछ । जनचेतना अभिबृद्धि, सहजीकरण र कार्यक्रमा प्राविधिक सहयोगमा शान्ति नेपालले सहकार्य गर्नेछ भने सर्वेक्षण, क्षमता विकास तथा प्राविधिक क्षेत्रमा शान्ति नेपाल मार्फत इन्फोको सहयोग रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार