रुकुमकोटमा सधैं खानेपानीकै पिरलो

 

रुकुम : रुकुमकोट जिल्लाको अस्थायी सदरमुकाम एवं ऐतिहासिक सहर हो रुकुमकोट । अहिले यो ठाउँ सिस्ने गाउँपालिकाको पनि केन्द्र हो । तर रुकुमकोट लामो समयदेखि खानेपानीकै समस्याले जेलिरहेको छ । सिस्ने गाउँपालिका –५ र ६ वडा अन्तर्गत रुकुमकोट उपत्यकाले बर्षौदेखि खानेपानीको पिरलो भोगिरहेको छ । यहाँका स्थानीयले कमल दह तथा लुस्पा धाराबाट समेत खानेपानी बोकेर गर्जो टारिरहेका छन् ।

पुरानो खानेपानी आयोजना जीर्ण हुनु, मर्मत नहुनु र बढ्दो जनघनत्वका कारण रुकुमकोट उपत्यकाले लामो समयदेखि खानेपानीको अभाव झेलिरहेको हो । मुस्किलले एक घण्टामात्रै आउने पानीले सर्वसाधारण समस्यामा परेका छन् । खान, कपडा धुन तथा बस्तुभाउलाई खुवाउन पानीको समस्या भइरहेको स्थानीयको गुनासो छ । नियमित र लामो समय पानी नआउँदा टाढा–टाढाबाट पानी बोक्नुपर्ने बाध्यता कायमै छ ।

सिस्ने गाउँपालिका–५ को घडारु चौरमा ०४५ सालमा निर्मित खानेपानी आयोजना जीर्ण बन्दा रुकुमकोट उपत्यकामा खानेपानीको समस्या भएको हो । बढ्दो जनसंख्याका कारण पानीको अभाव देखिन लागेको स्थानीयले बताए । अघिल्लो आर्थिक वर्षमा ८० लाख रुपैयाँ लगानी गरेर गाउँपालिकाले थप पानी ल्याएको थियो । त्यसको पनि वितरण व्यवस्थित नहुँदा उपभोक्ताले सजिलै खानेपानी पाइरहेका छैनन् ।

खानेपानीका कारण समस्या भइरहेको सिस्ने–५ का वडाध्यक्ष शान्तेबहादुर विकले बताउनुभयो । ‘आइरहेको पानी व्यवस्थित गर्न नसक्दा र केही योजना निर्माणकै चरणमा रहेकाले खानेपानीको समस्या देखिएको हो । अब छिट्टै यो समस्या समाधान हुनेमा विश्वस्त छौं ।’उहाँले भन्नुभयो ।

निर्माणको चरणमा दुई खानेपानीका आयोजना

रुकुमकोट उपत्यकालाई लक्षित गरी यहाँ दुईवटा खानेपानीका आयोजना निर्माणको चरणमा छन् । लुस्पाधाराको पानी लिफ्टिङ गर्ने योजनाको काम भइरहेको छ भने सिस्ने–६, खोपिचारको पानीको आयोजना बन्ने भएको छ । यी दुवै आयोजना सम्पन्न भएपछि यहाँ खानेपानीको समस्या समाधान हुने विश्वास छ।

लुस्पाको पानी लिफ्टिङ गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ८६ लाख रुपैयाँ विनियोजन गरेको छ भने प्रदेश ५ सरकारले ४० लाख रुपैयाँ छुट्याएको छ । आगामी असारसम्ममा सिस्ने–६ का तीन सय घरधुरीलाई खानेपानी पुग्ने गरी लुस्पाधारा आयोजना निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार