मुहान प्रयोग गरे बापत गाउँपालिकालाई बार्षिक २१ लाख बुझाउनुपर्ने

 

इलाम : खानेपानीको मुहान प्रयोग गर्न दिइए बापत सन्दकपुर गाउँपालिकाले इलाम नगरपालिकाबाट वार्षिक २१ लाख रुपैयाँ लिईने भएको छ । निर्माणाधीन इलामबजार सहरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएपछि इलामले सन्दकपुरलाई बर्षेनी उक्त रकम बुझाउनुपर्ने दुई पक्षीय सम्झौता भएको हो ।

तर इलाम नगरपालिकाले उपलब्ध गराउने रकमको ६० प्रतिशत रकम अर्थात वार्षिक १३ लाखको हाराहारी रकम सन्दकपुर गाउँपालिकाले खानेपानी मुहान तथा मुहान क्षेत्रको वातावरण संरक्षण, संवद्र्धन र ब्यवस्थापनको काममा खर्च गर्नुपर्नेछ । सम्झौता अनुसार इलामबजार सहरी खानेपानी तथा सरसफाइ आयोजनले उपभोक्ताबाट खानेपानी महसुल संकलन गर्न थालेपछि इलाम नगरपालिकाले सन्दकपुर गाउँपालिकालाई बार्षि सशर्त अनुदानका रुपमा उक्त रकम उपलब्ध गराउनु पर्नेछ ।

यी बाहेक साविकमा इलाम नगरपालिकाले सन्दकपुर गाउँपालिकाको भीमसेन आधारभूत विद्यालयलाई उपलब्ध गराउँदै आएको वार्षिक ७५ हजार र हिमालय बालविकास केन्द्रलाई उपलब्ध गराउँदै आएको वार्षिक ४० हजार रुपैयाँ पनि सन्दकपुर गाउँपालिकाकै सञ्चित कोषमा सशर्त अनुदानकै रूपमा उपलब्ध गराइराख्ने सम्झौता भएको छ । त्यसैगरी खानेपानी महसुलमा मूल्य समायोजन भएका बेला बढेको रकमको १० प्रतिशत रकम वृद्धि गरेर सन्दकपुर गाउँपालिकालाई उपलब्ध गराउने समेत समझदारी भएको छ ।

सन्दकपुर गाउँपालिकाले निर्माणाधीन इलाम बजार साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको निर्बाध निर्माण, सञ्चालन, संरक्षण गर्न वातावरण बनाइराख्ने, उत्तरदायी र जिम्मेवारपूर्ण भूमिका पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । हालै इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय र सन्दकपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयबीच आयोजनाको निर्माण, सञ्चालन, संरक्षण तथा सहयोग सम्बन्धी सम्झौता भएको हो ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा इलाम नगरपालिका, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नगर विकास कोष र इलाम बजार सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बीच आठ महिनाअघि सम्झौता भई आयोजना सञ्चालन भइरहेको छ ।
एक स्थानीय तहबाट अर्को स्थानीय तहमा खानेपानी आपूर्ति गरेवापत पैसा तिर्नु परेको भन्दै विरोध समेत हुन थालेको छ । एक स्थानीय तहको पानी अर्को स्थानीय तहमा प्रयोग गर्दा पैसा तिर्नुपर्छ भने सडक प्रयोग गरेवापत पैसा तिर्ने कि नतिर्ने भन्ने बहस हुनुपर्ने भन्दै यसको विरोध सुरु भएको हो ।

इलाम सदरमुकाममा बर्षौं अगाडिदेखि सन्दकपुर गाउँपालिकाबाट खानेपानी ल्याएर प्रयोग गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार