खानेपानी मन्त्रालयको समीक्षा बैठक : मातहतका निकायहरुको प्रगतिबारे ब्रिफिङ

 

काठमाडौ : खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७६/०७७ को पहिलो चार महिना अर्थात साउन, भदौ, असोज र कार्तिक महिना सम्मको भौतिक तथा वित्तीय प्रगति बारे समीक्षा बैठक गरिएको छ । समीक्षा बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले विभागको चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिकमा ७६ प्रतिशत भौतिक प्रगति र २० प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिनुभयो ।

उहाँले खानेपानी विभाग अन्तर्गत रहेका खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत र सहरी खानेपानी तथा सरसफाइ आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत रहेको जानकारी दिनुभयो । यस्तै खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले देशभरि नै आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित हुने जनसंख्या यही आर्थिक वर्षभित्र ९२ प्रतिशत पुग्ने जानकारी दिनुभयो । सहसचिव दुवाडीले उच्च मध्यमस्तरको खानेपानी सेवाबाट अहिलेसम्म २१ प्रतिशत जनसंख्या लाभान्वित भएकोमा यो संख्या बढेर २५ प्रतिशत पुग्ने जानकारी दिनुभयो ।

खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको सुरुङको फिनिसिङ गर्ने काम धमाधम अघि बढेको जनाएको छ।  समीक्षा बैठकमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको बाँकी काम हेडवर्कस र सुरुङ फिनिसिङको काम धमाधम भईरहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने उद्देश्यले काम अगाडि बढिरहेको बताउँदै भोलिका दिनमा काम गर्ने वातावरण नबिग्रने गरी अघि बढ्न सरकारका सबै निकायहरु बीच समन्वय जरुरी रहेको बताउनुभयो ।

पहिलो चौमासिक अवधिमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत रहेको जानकारी गराइएको थियो । यस्तै ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक चोकप्रसाद धितालले कोष विकास समितिको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति ११ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक बर्षको समीक्षा अवधिमा ३५ वटा खानेपानी आयोजना सम्पन्न भएको जानकारी दिनुभयो ।

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिहरु समेत सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार