बस्तीमा सधैं खानेपानीकै चर्चा, मठ मन्दिरमा अर्बौ खर्च

 

सिरहा : सिरहा नगरपालिका – १९ सन्हैठाका १२ डोम परिवारलाई खानेपानीकै ठूलो समस्या छ । जम्मा १२ परिवारको बीचमा एउटा मात्रै सार्वजनिक हातेकल छ । यो टोलमा सधैं खानेपानीकै चर्चा हुन्छ । पर्याप्त खानेपानीको अभावमा कहिले खानेपानीकै निहुँमा बोलचाल बन्द हुन्छ । तर प्रदेश तथा स्थानीय सरकारले स्थानीय बासिन्दाको आवश्यकता बुझ्दैन ।

खानेपानी अभाव खेपिरहेको यो बस्ती नजिकै प्रदेश–२ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २५ लाख लगानी गरेर नवदुर्गा मन्दिर र अर्को २५ लाखमा बाइसी पोखरीको घाट निर्माण गरिरहेको छ । बस्तीसँग जोडिएको औरही गाउँपालिका–४ मा सोही मन्त्रालयले ५० लाखमा महादेव मन्दिर (मठ) मर्मत र ५० लाखमा कब्रिस्तानको पर्खाल लगाउन खर्च गरेको छ ।

स्थानीय तथा प्रदेश सरकारले सिरहाका विभिन्न बस्तीमा खानेपानीको सट्टा मठ मन्दिरमा करोडौं बजेट खर्च गरिरहेको छ । सिरहाका १७ सहित प्रदेश–२ का ३१ स्थानीय तहले २९ करोड ६३ लाख ६२ हजार मठ–मन्दिर, मस्जिद, गुम्बा निर्माण र मर्मत सम्भारमा सकेका छन् । यसमा संघीय सांसद, प्रदेश सांसद र प्रदेश मन्त्रालयहरूका कार्यक्रमहरू समेत जोड्दा गएको आर्थिक वर्षमा मात्रै करिब ४१ करोड दुई लाख मठ–मन्दिर र मस्जिद बनाउन खर्च गरिएको छ ।

प्रदेश–२ सरकारले आठ वटै जिल्लामा मठ–मन्दिर निर्माण र जीर्णोद्धारका लागि चालू आर्थिक वर्षमा ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अहिले पनि मन्दिर, मस्जिदमा बजेट माग भइरहेको र टोलटोलमा मठमन्दिर, मस्जिद चाहिन्छ भन्नु विडम्बना भएको प्रदेश–२ का कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले बताउनुभयो ।

जनतालाई खानेपानी, आवास र शौचालय छैन, तर स्थानीय जनप्रतिनिधि मठ–मन्दिर निर्माण र मर्मतमा लगानी गरिरहेका छन् । चुनावी वाचाले गर्दा पनि मठ–मन्दिर निर्माण र जीर्णोद्धारमा लगानी बढी भएको सिरहा नगरपालिकाका प्रमुख अशेश्वरप्रसाद यादवले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार