पानीको थोपाले बजाएको थपडी

काभ्रे : आँगनमा चिटिक्क परेको धारो, छेवैमा भाँडा सुकाउने चाङ, सँगैको करेसाबारीमा हरिया सागपात । हेर्दै खाउँ – खाउँ लाग्दो । काभ्रेको मण्डनदेउपुर ९ जीतौरीपोखरीकी सावित्रा रम्तेलको घरमा पुग्दा देखिने दृश्य यस्तै थियो । । यी त बाहिरी आँखाले नियाल्दा देखिने मात्र । नदेखेको कुरा त सावित्राको भित्री खुसी रहेछ । जो पानीले ल्याई दिएको रहेछ ।

‘यो पानीले त भन्नै नसक्ने खुशी दिएको छ, चार ठाउँ विसाएर खोलाबाट पानी ल्याउँदा कम्मर कटक्क दुख्थ्यो अहिले त कति शान्ति, शान्ति’ खुसीको कुरा फुत्कियो साबित्रीको मुखबाट ।

 

गाउँमा भएको एउटा मुहान २०७२ सालको भुकम्पपछि सुक्यो । अनि सुरु भयो पानीको दुःखका दिन । पानी लिन एक घण्टा हिँडेर ईन्द्रावती झर्नुपर्थ्यो । दिनभर अरुको मेलापात, साँझ परेपछि पानी लिन तलतिर । पानी लिएर आउँदा रात छिप्पिसक्थ्यो । सावित्रालाई विगतले घोच्न थाल्यो ।

‘पानी लिएर घरमा आईपुग्दा छोराछोरी भोकै निदाइसक्थे । कहिले त एक अम्खोरा पानी समेत नहुँदा तिर्खाएका छोराछोरी र आफू कति भोकै सुत्नुपर्ने अवस्था पनि आयो । अहिले त आँगनमै धारो छ चाहिए जत्ति पानी भर्न पाएका छौं, सुखका दिन फिरेको छ’ यत्ति भनिसक्दा साबित्रीको मुहारमा पीडा र खुसी मिश्रित भाव झल्किन्थ्यो ।

सावित्रा बोल्दै गर्दा कालिका रम्तेल बीचैमा प्रवेश गर्नुभयो । ‘धारा बनेपछि त हाम्रो दुःख सकिएको छ । पानी खान दिन नसकेर गाई पालिएको थिएन, दुध खान त देख्न पनि पाईदैनथ्यो, तर अहिले त गाई पालेकोले घरमा कुँडेभरि दुध हुन्छ ।’ त्यहीबेला घरको छेवैमा बाँधेको खसी करायो । रम्तेलको ध्यान त्यतै तानियो । ‘उ खसी करायो, यो खसी पनि पानी आएपछि नै किनेका हौं, पानीले त हामीलाई कति सजिलो भएको छ नि ! अस्ति दशैंमा खसी पनि बेचियो ।’ कालिकाको मुहारमा पनि साबित्राको भन्दा कम खुसी झल्केन ।

ट्याङकीमा पानी छुन नहुने, उनीहरुले भरिदिएको पानी लिदा अपमानित महसुस हुन्थ्यो, विहानै जाँदा उनीहरुको पुजा चल्दै हुन्थ्यो अलग्गै बस्नुपर्ने, अहिले त हाम्रो घरमा धारो छ, त्यसैले आफुहरुलाई सम्मानित भएको महसुस हुन्छ ।

मण्डनदेउपुर ९ को ५५ घरधुरीका लागि लिफ्ट प्रणाली मार्फत पानी वितरण गरेपछि यहाँका बासिन्दाको सुखको दिन फिरेको हो । भूकम्प पछि खानेपानीको मुहान सुकेपछि दुःख झेल्न बाध्य भएका यहाँका बासिन्दाको लागि ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) को आर्थिक सहयोगमा शान्ति जनआदर्श सेवा केन्द्रको समन्वयमा खानेपानी योजना निर्माण गरिएको हो ।

३९ लाख ७२ हजार ७ सय ९५ रुपैयाँमा सम्पन्न खानेपानी योजनाका लागि ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले ३२ लाख ३२ हजार २ सय ७७ रुपैयाँ, समुदायले ४७ हजार ४ सय ९८ नगद र ६ लाख ८७ हजार १९ रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

२ वटा ट्याङ्की, ९९ मिटर मुख्य पाइप लाइन र ५ हजार १ सय ९० मिटर वितरण पाइप मार्फत ५५ वटै घरमा धारा निर्माण गरी पानी वितरण गरेपछि मण्डनदेउपुरको जीतौरीपोखरीका बासिन्दाले खानेपानीका लागि कहीं कतै पनि धाउनुपरेको छैन ।

मर्मत सम्भारका लागि छुट्टै कोष

बस्तीभन्दा तलबाट लिफ्ट गरेर बस्ती माथिको ट्याङकीमा जम्मा गरी उपभोक्तालाई निश्चित समय पानी बितरण गरिन्छ । पानी बितरण तथा अन्य व्यवस्थापनको लागि उपभोक्ताले मासिक २५० रुपैयाँ पानीको महसुल उठाउँछन् । त्यही रकमबाट खानेपानी उपभोक्ता समितिले एक जनालाई रोजगारी दिईएको छ ।

खर्च भएर बाँकी रहेको रकम खानेपानी टुटफुट भएमा मर्मत सम्भार गर्नका लागि बनाएको कोषमा बचत गर्छन् । २०७५ वैशाखमा सम्पन्न भएको खानेपानी योजनाका लागि त्यत्तिबेलै २ लाख ३० हजार रुपैयाँको मर्मत सम्भार कोष स्थापना गरिएको थियो ।  जीतपोखरीलाई २०७४ साल पुस १३ गते खुला दिसामुक्त घोषणा गरिएको थियो । यहाँ ५१ जनाको महिला आयमूलक समूह समेत गठन गरिएको छ । विभिन्न आयमूलक कार्यक्रमहरु सञ्चालन गर्नका लागि फण्डबोर्डले छुट्टै २० हजार रुपैयाँ सहयोग गरेको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष कान्छा सार्की भन्नुहुन्छ ‘हामी धेरै पिडा भोगिरहेको बेला आएको योजना हो, यसलाई बिग्रन नदिईकन सँधैभरि पानी ल्याउन हामी सबै एकजुट छौं ।’

खानेपानीले दिलायो आत्मसम्मान

५५ घरधुरी दलित समुदाय हिजोआज दङ्ग छ । सानीनानी रम्तेलले खुशी हुँदै भन्नुभयो, ‘साँझ बिहान पानी नहुँदा तल्लो बस्तीमा रहेको उपल्लो जातिकोमा पानी माग्न जानुपथ्र्यो, ट्याङकीमा पानी छुन नहुने, उनीहरुले भरिदिएको पानी लिदा अपमानित महसुस हुन्थ्यो, विहानै जाँदा उनीहरुको पुजा चल्दै हुन्थ्यो अलग्गै बस्नुपर्ने, अहिले त हाम्रो घरमा धारो छ, त्यसैले आफुहरुलाई सम्मानित भएको महसुस हुन्छ ।

 

पानी नहुँदा चर्पीको प्रयोग गर्न सकिदैनथ्यो, चर्पीमै गएपनि पानी नहाल्दा दुर्गन्धले बसिनसक्नु हुन्थ्यो, तर हिजोआज चर्पी सफा छ । कालिका रम्तेलले धारासँगै जोडिएको करेसावारी देखाउँदै भन्नुभयो, ‘आजभोलि त तरकारी पनि आफै फलाउँछौं, पहिले तरकारी किनेर खानुपथ्र्यो अहिले आफुलाई खान मज्जाले पुग्छ, तरकारी किन्ने पैसा छोराछोरीको पढाईमा लगानी भईरहेको छ ।

विगतमा परिवारको एक सदस्यको दैनिकी पानी ओसार्नमै बित्ने गरेको भन्दै सुशीला रम्तेलले भन्नुभयो ‘बस्ती तल रहेको ठूलो खोलाबाट पानी लिफ्ट गरी ल्याएपछि अहिले निकै सुविधा भएको छ, त्यसरी पानी ल्याउनु अघि घर बनाउन वा अन्य आवश्यक कामका लागि लिटरको १ रुपैयाँ तिरेर गाडीबाट ओसार्नुपथ्र्याे ।’

दलित बस्तीका प्रायःजसो मजदुरी गर्छन् । अरुको खेतवारी तथा निर्माण लगायतको क्षेत्रमा काम गर्ने उनीहरु त्यसैवाट गुजारा गरिरहेका छन् । सामान्य खेती पनि भएका उनीहरु घर÷घरमा धारा बनेपछि ठुलो समस्याबाट पार पाएको बताउँछन् ।

दातृ निकायका पदाधिकारीहरु अनुगमनमा पुग्दा उनीहरुले स्वागत गर्दै भने ‘पुज्ने भगवान त कसले देखेको छ र हामीलाई जसले पानी ल्याईदियो, उनीहरु नै हुन् हाम्रा भगवान ।’ अनुगमनका लागि पुगेको टोलीलाई ताली बजाएर स्वागत गर्दै उनीहरुले भने ‘थोपा थोपाले बजेको हो यो थपडी’

ठूलो खोला लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष कान्छा सार्की यसअघि खानेपानी नभएकै कारण समस्या भोगेको भन्दै अहिलेको खुसीको कुनै सीमा नरहेको बताउनुहुन्छ ‘खानेपानीका लागि यहाँका रातोमाटोमा लड्दै पानी ओसार्नुपथ्र्यो, त्यस्तो गर्दा कहिले लडेर गाग्री नै कुच्चिने र कहिले मान्छे नै घाइते हुने अवस्था हुन्थ्यो, अब त्यो अवस्था रहेन, खानेपानी पाएर सारा दुःख भुलेका छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार