युवाहरुको सामूहिक लगानीमा साबुन उद्योग

प्यूठान : प्यूठान नगरपालिकाका पाँच जना युवाहरुले सामूहिक लगानीमा साबुन उद्योग सञ्चालन गरिएको छ । प्यूठान नगरपालिका ५ का विराम पार्धे, प्रसादे भण्डारी, गणेश भण्डारी, दने पुन र पुठाराम घर्तीको संयुक्त लगानीमा उद्योग सञ्चालनमा ल्याईएको हो ।

युवाहरुको सामुहिक लगानीमा सञ्चालित साबुन उद्योगको नाम स्वर्गद्वारी हर्बल साबुन उद्योग राखिएको छ । गाउँघरमै पाइने चिउरी लगायतका कच्चा पदार्थ उपयोग गरी साबुन बनाउने गरिएको छ । सावुन उद्योगबाट राम्रो आम्दानी हुने सम्भावना भएपछि साबुन उद्योगमा लगानी गरिएको सञ्चालक मध्येका एक विराम पार्धेले बताउनुभयो ।

यसक्षेत्रको निजी तथा सामुदायिक बनमा प्रशस्त मात्रामा साबुन बनाउन आबश्यक पर्ने कच्चा पदार्थ पाइने भएकाले साबुन उद्योगतर्फ आकर्षित भएको अर्का सञ्चालक गणेश भण्डारीले बताउनुभयो ।

‘हाम्रै पाखा पखेरामा खेर गइरहेको कच्चा पदार्थको सदुपयोग गरी उद्योग सञ्चालन गरेका हौं, चिउरीको घिउबाट साबुन उत्पादन गर्न सकिन्छ कि भनेर लगानी गरेका हौं ।’ उहाँले भन्नुभयो । उहाँका अनुसार एक धार्नी चिउरीको घिउबाट १०० ओटा नुहाउने साबुन बनाउन सकिन्छ । चिउरीको घिउ, नरिवलको तेल, स्प्रिड, चिनी पानी लगायत कच्चा पदार्थ मार्फत साबुन निर्माण हुन्छ ।

प्यूठानबाट उत्पादित साबुन जिल्लाका साथै भारत र जापान निर्यात हुने गरेको छ । प्यूठान नगरपालिका १० की दुर्गा केसीले भने यसअघि नै साबुन उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।

आर्थिक उपार्जनको सम्भावना पहिचान गरी लगानी र परिश्रम गर्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् प्यूठानका पाँच जना युवाले ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार