नगरपालिकाको दमकलबाट अस्पताललाई पानी, चिकित्सकलाई हात धुने पानीको समेत अभाव

 312 पटक हेरिएको

 

लमजुङ : लमजुङको बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पानीको अभाव भएपछि बेंसीसहर नगरपालिकाको दमकलबाट ल्याएर काम चलाइएको छ । ४ हजार ५०० लिटर पानी दमकलको सहायतामा ल्याएर अस्पतालको ट्याङ्कीमा हालिएको हो ।
अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार अस्पतालमा पानी आउने तालिकामा पानी नआउँदा समस्या भएको हो । विहान ६ बजेदेखि साँढे ९ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म अस्पतालमा पानी आउने तालिका छ । पानी भने एक घण्टा मात्र आउने गरेको उहाँले बताउनुभयो ।

अस्पतालका मर्मत सम्भार प्रमुख सेरमानसिंह अर्यालका अनुसार अस्पतालमा १५ हजार लिटरको ३ वटा ट्याङ्की छन् । दैनिक १० हजार लिटर पानी अस्पताललाई आवश्यक पर्छ । पानी नआएकै कारण ट्याङ्की खाली भएको उहाँले बताउनुभयो । ‘कुनै दिन १ घण्टा पानी आउँछ । कुनै दिन आधा घण्टा आएर सुक्छ । आवश्यक पर्ने १० हजार लिटर हो । पानी दैनिक २ हजार लिटर जति आउँछ । लौन्ड्रीमा मात्रै दैनिक ४ हजार लिटर पानी खर्च हुन्छ’ उहाँले भन्नुभयो, ‘पानी नभएका कारण विरामी र कुरुवाले बोतलमा पानी लिएर शौचालय जान बाध्य छन् । कपडा धुन पाएका छैनन् ।’

बेंसीसहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधानका अनुसार पानीको स्रोत कम भएकाले बेंसीसहर बजारमा पानीको अभाव भएको बताउनुभयो । ‘पानीको स्रोत सुक्दै गएको छ । पानी कम भएपछि २ घण्टा मात्र वितरण गरेका छौं । स्रोत कम भएकाले बजारका सबै ठाउँमा पहिले जस्तै पानी पुग्न सकेको छैन ।’

यसअघि विहान र बेलुका ४/४ घण्टा पानी वितरण गरिँदै आएपनि अहिले स्रोत कम भएकाले विहान र बेलुका २÷२ घण्टा मात्रै पानी वितरण गर्दै आएको उहाँले बताउनुभयो ।

 

पानी अभावको मार सबैभन्दा बढी अप्रेशन कक्षमा

 

पानीका कारण सबैचन्दा बढी अपरेशन कोठामा समस्या भएको अस्पतालका मर्मत सम्भार प्रमुख सेरमानसिंह अर्यालले बताउनुभयो । अपरेशनपछि चिकित्सकले हात धुने पानी समेत नभएको भन्ने गरेपछि गार्डले बाहिरबाट पानी खोजेर ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

अप्रेशन कक्षपछि सबैभन्दा बढी समस्या सुत्केरीलाई स्याहार गर्नेलाई परेको छ । सुत्केरीको स्याहारमा आउनुभएकी बेंसीसहर नगरपालिका ११ रामचोककी विन्दुमाया परियारले बच्चाको कपडा समेत धुन पाउनुभएको छैन । ‘छोरी सुत्केरी भएको छ । पटकपटक कपडा धुनुपर्छ । सरसफाइ गर्नुपर्छ । शौचालय जानुपर्छ’ उहाँले भन्नुभयो ‘अस्पतालको धारामा थोपा पानी आउँदैन । सुत्केरीको कपडा धुन पाएको छैन । शौचालय गयो हाल्ने पानी छैन । पानीले हैरानै बनायो ।’

अस्पतालका अनुसार दैनिक २०० जना विरामी आउँछन् । भर्ना भएर बस्ने ३०/४० जना छन् । कर्मचारी ८०/८५ कर्मचारी छन् ।

पानीको अभावमा अस्पतालमा आउने विरामी, विरामीका कुरुवा, कर्मचारीलाई कपडा धुन तथा शौचालय जान समस्या भएको छ । पिउनका लागि क्यान्टिन तथा होटलबाट पानी ल्याउने गरे पनि कपडा धुन र शौचालयमा प्रयोग गर्ने पानी नपाएको उनीहरुले बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार