स्यानिटरी प्याड बनाउन १८ महिलालाई रोजगारी

 307 पटक हेरिएको

धुलिखेल : बनेपाकी सरिता मल्लले स्यानिटरी प्याड सिलाउने काममा जागिर पाइएला भन्ने सोचेको पनि थिएन । रहरै रहरमा स्यानिटरी प्याड सिलाउने सीप सिक्नुभएकी मल्ल अहिले जागिरे मात्र हुनुभएको छैन, प्याड बनाउने सबै महिलाहरुको टोली नेता समेत बन्नुभएको छ ।

एक हप्ताको तालिममा भएर लिएपछि मल्ल सँगै अन्य १७ जनाले प्याड उत्पादनमा अवसर पाएका छन् । उहाँको काम उत्पादन भएको प्याड व्यवस्थित बनाएर त्यससँगै साबुन र अन्य जानकारीमूलक सामग्री राखेर झोलामा प्याक गर्ने हो । बिहान १० बजे हाजिर भएपछि दिउँसो साढे ३ बजे बिदा हुन्छ । टोली नेता सरिता मल्ल भन्नुहुन्छ ‘महिनाको ९ हजार पाउँछौं, अहिले काम गर्न थालेको दुई महिना भएको छ, ६ महिना सम्मको योजना भन्नुभएको छ ।’

रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोग, आईइडी नेपालको प्राविधिक सहयोग र धुलिखेल उद्योग वाणिज्य सङ्घले दुई महिनादेखि स्यानिटरी प्याड सिलाउने काम भईरहेको हो । १८ जना महिलाले दैनिक ६०÷७० प्याकेट प्याड सिलाउछन् ।

रोटरी क्लब अफ धुलिखेलका पूर्वअध्यक्ष रञ्जीव श्रेष्ठका अनुसार अहिलेसम्ममा दुई हजार पोका उत्पादन भईसकेको छ । ती मध्ये केही विद्यालयका बालिकालाई वितरण गरिसकेको छ भने उत्पादन गरेको प्याडसँगै प्रयोग गर्ने जानकारीमूलक सामग्री सहितको पोको बनाएर विद्यार्थीलाई वितरण गरिनेछ ।

दुईवटा सेनेटरी प्याडसँगै त्यसको प्रयोग गर्ने तरिका, साबुन, प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी र अन्य सरसफाइका बारेमा समेत जानकारीमूलक सामग्री रहेको पोको तयारी पारी विद्यालयका विद्यार्थीलाई वितरण गर्दै आएको श्रेष्ठले बताउनुभयो ।

त्यसरी उत्पादन गरेको प्याड अहिलेसम्ममा धनुषा जिल्लाको ६ र सिरहा जिल्लाको १२ गरी १८ विद्यालयका विद्यार्थीलाई वितरण गरिसकेको छ । उहाँका अनुसार नेपालमा उत्पादन हुँदै आएको प्याडमा पनि उच्च गुणस्तरको कपडा प्रयोग गरी बनाएको यो प्याड बातावरणमैत्री रहेको छ । त्यसरी बनाएको प्याड प्रयोग गरेको दुई देखि तीन वर्षसम्म पुनः प्रयोग गर्न सकिन्छ ।

व्यवसायिक तालिम केन्द्र स्थापना गर्ने
रोटरी क्लब अफ धुलिखेलले स्यानिटरी प्याड उत्पादन गर्ने व्यवसायिक तालिम केन्द्र स्थापना गर्ने भएको छ । प्याड सिलाइमा प्रयोग भैरहेका २५ वटा मेसिन, ६ वटा इन्टर लग र पाँच वटा कपडा काट्ने मेसिन व्यवसायिक तालिम केन्द्र स्थापना गरी उद्यमी महिलालाई वितरण गर्ने योजना रहेको क्लबका पूर्वअध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अहिलेसम्ममा दुई हजार वटा प्याड उत्पादन भईसकेको छ । अब तीनदेखि पाँच हजार प्याड उत्पादन गरी विभिन्न जिल्लाका ५० वटा विद्यालयमा वितरण गरेपछि व्यवसायिक तालिम केन्द्र स्थापना गर्ने योजना रहेको श्रेष्ठले बताउनुभयो ।

धुलिखेल उद्योग वाणिज्य सङ्घका अध्यक्ष मञ्जुकुमार कोजुले परियोजना सकेपछि पनि विद्यालय, सङ्घसंस्था र कुनै अस्पतालले माग गरेको खण्डमा प्याड निर्माण गरी वितरण गर्ने किसिमले कामलाई निरन्तरता दिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार